तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठानमा चार सदस्य नियुक्त

जनकपुरधाम । प्रदेश नंं २ का सरकारले प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री अध्यक्ष रहने गरी गठन भएको मधेशी सहिद प्रतिष्ठानमा ४ सदस्य थप गरेर नियुक्त गरेको छ ।

मधेशी सहिद प्रतिष्ठानको नव नियुक्त सदस्यहरूलाई प्रतिष्ठानका अध्यक्ष एवं प्रदेश नंं २ को आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज प्रमाणपत्र प्रदान गर्नु भएको छ ।

यसरी नियुक्त हुनेहरूमा सर्लाही जिल्लाको रामनरेश राय यादव, सप्तरी जिल्लाको राजविराज नगरपालिकाका कविता कुमारी ठाकुर, महोत्तरीको जलेश्वर नगरपालिका वडा नंं ११ पिगौनाका सिम्पी कुमारी साह र रौतहटको सुरेन्द्र कुमार जयसवाल रहनु भएको छ । नियुक्त हुने ४ जना मध्ये २ जना जनयुद्धका सहिद परिवार तथा २ जना मधेश आन्दोलनका सहिद परिवारका सदस्य रहनु भएको छ ।

मधेश आन्दोलन तथा जनयुद्धको क्रममा शहादत दिएका सहिद परिवारलाई राहत दिन, घाइतेलाई उपचार सहितको सुविधा, पुनर्स्थापना, सहिद पार्कको निर्माण सहितको कामकाज गर्नका लागि प्रतिष्ठानले कामकाज गर्ने अध्यक्ष समेत रहनु भएका मन्त्री साहले बताउनु भयो ।  

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button