तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगको विकास विना देश अघि बढ्न सक्दैन : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले वाणिज्य र उद्योगका विकासका लागि एक दिन मात्र दिवस मनाएर नपुग्ने बताउनु भएको छ । ७ औँ उद्योग दिवसको अवसरमा आज सुर्खेतको वीरेन्द्रनगर आयोजना गरिएको एक सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले उद्योगको विकास विना कुनै पनि देश अघि बढ्न नसक्ने भएकाले समृद्धिका लागि उद्योगीहरूलाई अगाडि बढ्न आग्रह गर्नु भयो । 

उहाँले उद्यमशीलताको विकासका लागि प्रदेश सरकार ऐन, नियम र कानुनमा समेत संशोधन गर्न तयार रहेको जिकिर गर्नु भयो । आयातित वस्तुलाई निरुत्साहित गर्दै कर्णालीको आन्तरिक उत्पादनलाई बढवा दिन प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाई थियो । ‘स्वदेशी उद्यम र उत्पादन दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ कर्णाली प्रदेश उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजनामा मनाइएको ७ औँ उद्योग दिवसमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले कर्णालीका उत्पादनमुखी उद्योगलाई प्रवर्द्धन प्रदेश सरकारले ४० लाख रुपैयाँ व्याजमा अनुदान दिने कार्यक्रम ल्याएकाले लाभ दिन उद्योगीलाई आग्रह गर्नु भयो । 

उहाँले प्रदेशका दश वटै जिल्लामा एक उत्पादन एक वस्तुलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले अनुदान सहयोग कार्यक्रम समेत ल्याएको बताउनुभयो । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, उद्योग, उपभोक्ता निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीलगायत स्वदेशी उद्योगको प्रवर्द्धन, बजारीकरण लगायतमा सरकार र निजी क्षेत्रको समान सहभागिता आवश्यक रहेको औँल्याउनु भएको थियो । दिवसको अवसर पारेर सुर्खेतमा उत्पादित विभिन्न १७ वटा वस्तुहरूको प्रदर्शनसँगै दुई जना उद्यमीलाई सम्मान समेत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button