२०७८ साल मंसिर २३ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोपोन्मुख राउटे समुदायको पनि जनगणनामा

दीपक शर्मा २०७८ मंसिर ९ गते १७:३६

सल्यान । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ । 

विभिन्न स्थानमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका छन् । सुरुमा जनगणना गराउन नमानेका राउटेहरू पछि भने जनगणना गराउन राजी भएका थिए । 

२०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरूको सङ्ख्या १ सय ४५ पुगेको छ  ।  पुरुष ६९ जना र महिला ७६ जना गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना  गरेका हुन  । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै  आएका उनीहरूको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ । 

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछन् ।

यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ बालुबासँग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा न १ घाटगाउँमा बसाइ सरेका थिए । 

एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा न ३ को  काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ  । 

सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवनशैली फेरिएको छ । 

सम्बन्धित