तपाईँ सुन्दै हुनुहुन्छः

बेरुजु नियन्त्रणका लागि राज्यका सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक निकायमा बढ्दै गएको बेरुजु नियन्त्रणका लागि राज्यका सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ । 

महालेखा परीक्षकको कार्यालयको आज काठमाडौँमा नवनिर्मित कार्यालय भवन उद्घाटनका अवसरमा राष्ट्रपति भण्डारीले सार्वजनिक निकायमा निरन्तर बेरुजु बढ्दै जाँदा देशको आर्थिक विकासमा नकारात्मक प्रभाव परिरहेको बताउनुभयो । 

राष्ट्रपति भण्डारीले दैनिक उपभोग्य बस्तुको आयात बढेका कारण देशको अर्थतन्त्रले धान्नै नसक्ने गरी व्यापार घाटा समेत बढ्दै गएको हुनाले यसको नियन्त्रणका लागि पनि राज्यका निकायहरूले ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको आर्थिक गतिविधि एवं श्रोत साधनको बाँडफाँडको यथार्थ विश्लेषण गरी आर्थिक प्रशासनलाई पारदर्शी र नतिजामुखी बनाउन महालेखा परीक्षकको कार्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा महालेखा परीक्षक चिन्तामणि शर्माले नवनिर्मित भवनमा कार्यालय स्थानान्तरण भएपछि अनलाइन प्रणालीबाट लेखा परीक्षण सेवा सञ्चालनमा ल्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । 

महालेखा परीक्षक शर्माले करिब ७३ करोड रुपैयाँ लागतमा निर्माण भएको सो भवनलाई सकेसम्म प्रविधि मैत्री बनाउने प्रयास गरिएको र क्रमशः कार्यालयका सबै सेवा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको समेत जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button