तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन प्रतिनिधिमा सांसद र मेयर नै पराजित

अछाम । अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा प्रतिनिधिसभा सदस्य र मेयर  पराजित भएका छन् । प्रतिनिधि सभा सदस्य राम बहादुर विष्ट तथा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

महाधिवेशन प्रतिनिधि खुल्ला पदका उम्मेदवार रहेका काँग्रेसका पुराना नेता एवं प्रतिनिधि सभा सदस्य रहेका विष्ट गोला प्रथाबाट पराजित भएका हुन् ।

कांग्रेस अछाम क्षेत्र नं. २ का निवर्तमान क्षेत्रिय सभापति लक्ष्मण बहादुर शाहको समान ३ सय ८७ मत आएपछि गोलाप्रथाबाट शाहले बाजी मारेका हुन् । नगरप्रमुख देवकोटा भने खुला तर्फको १० भित्र नै पर्न सक्नुभएन । उहाँ यसअघि महासमिति सदस्य रहनुभएको थियो ।

नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमार्फत अछाम क्षेत्र नम्बर २ मा पुष्पराज शर्मा निर्वाचित हुनुभएको छ । आज आएको अन्तिम मत परिणाम अनुसार शर्माको प्यानल नै विजयी भएको निर्वाचन अधिकारी मातृकाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यसअघि २ पटक क्षेत्रीय सभापतिमा पराजित शर्मा यो पटक ४ सय ६० मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शर्माले ३ सय ३५ मत प्राप्त गर्नुभएका यसअघि क्षेत्रीय सचिव रहेका टङ्क बहादुर धामीलाई पराजित गर्नुभएको हो ।

सचिवमा ४९२ मत सहित भीम बहादुर विष्ट र ४०७ मत सहित सुरत बहादुर रावल निर्वाचित हुनु भएको छ । सचिव पदका निकटतम प्रतिद्वन्द्वी पुष्प भण्डारीले ३०१ मत र सर्प बहादुर विष्टले २७३ मत मात्रै प्राप्त गर्नुभयो । सहसचिव पदमा ४७८ मत सहित चन्द्र बहादुर बुढा र ४६१ मत सहित पुष्पराज भण्डारी निर्वाचित हुनु भएको छ । सहसचिव पदका निकटतम प्रतिद्वन्द्वी नेत्र बहादुर थापाले ३२३ र वीर बहादुर धामीले २१९ मत मात्रै प्राप्त गर्नुभयो ।

देउवा समूहका दुई टिमले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

अछाम क्षेत्र नम्बर २ बाट २५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । अछाम क्षेत्र नम्बर २ मा कुल खसेको मतभन्दा १८ मत बढी भेटिएपछि गणना कार्य स्थगित भएको छ । हालसम्म मत परिणाम के गर्ने भन्ने टुङ्गो नलागेको कांग्रेस जिल्ला सचिव नम बहादुर शाहीले बताउनु भयो । शीर्ष नेता महाधिवेशनमा हार्ने भए पछि षडयन्त्र गरिएको एक थरीको भनाइ रहेको छ । 

क्षेत्र नम्बर १ मा अन्यौल भए पछि मङ्सिर १० गते हुने जिल्ला अधिवेशन समेत स्थगित गरिएको कांग्रेस अछामका प्रवक्ता सहसचिव वेदप्रकाश तिमिल्सिनाले बताउनु भएको छ । जिल्ला सभापति भरतकुमार स्वारको निर्देशन अनुसार अर्को सूचना नभए सम्मका लागि जिल्ला अधिवेशन स्थगित गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button