तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत : १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय

file photo

काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले मङ्सिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । 

आज बसेको पूर्ण बैठकले करिब एक सातामा सम्पूर्ण तयारी पूरा गरेर मङ्सिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो । 

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले संशोधित नियमावली अनुसार पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोकिने जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू सहभागी पूर्ण बैठकले प्रधानन्यायाधीशको अध्यक्षतामा  अन्य दुई जना वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाट पेसी तोक्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरूको पूर्ण बैठकले गत एक साता अघि सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए । सो संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भएपछि बैठकले गोलाप्रथाबाट पेशी तोक्ने मिति तय गरेको हो ।  

यसैबिच, प्रधानन्यायाधीश जबराले राजीनामा मागेर विरोध प्रदर्शनलाई जारी राखेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना तथा विरोधका कार्यक्रमलाई जारी राखेको छ । 

नेपाल बार एसोसिएसनको अग्रसरता नेपाल बारसहित ७ वटा संस्थाले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म न्याय मार्च गरेका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा र न्यायालय पुर्नःसंरचनाको आन्दोलनमा अन्य सङ्घसंस्थाले साथ दिँदै प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाउन राजनीतिक दल र संसद्लाई दबाब दिन र्‍याली निकालेका हुन् ।

सो न्याय मार्चमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनको सहभागिता थियो । 

बारले गर्दै आएको तेस्रो चरणको विरोधको कार्यक्रम भोलिसम्म जारी रहने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button