तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीको पिरलो

सल्यान । सल्यानका अधिकांश स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ । 

पानीका मुहान सुक्दै जानु र अनाधिकृत रुपमा सडक खन्दा जिल्लामा खानेपानीको समस्या बढ्दै जान थालेको हो ।  

पानीका मुहान खोलामा हुनु र बस्ती डाँडोमा हुँदा पनि जिल्लामा खानेपानीको थप समस्या बढेको स्थानीयको भनाई छ । 

गाउँनजिक नहुँदा घरदेखि करिब एक घण्टाको दुरीमा रहेको जरुवामा गई पानी ल्याउनुपर्ने बाध्यता रहेको कालीमाटी गाउँपालिका –७ बाटुलेकी पिमसरा घर्तीले बताउनुभयो । उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी पनि सुक्दै जाँदा खानेपानीको समस्या भोग्दै आइरहेको उहाँको भनाई छ । “पानी बोक्ने नै एउटाको जिम्मेवारी जस्तो हुन्छ । मानिसदेखि बस्तुभाउसम्मलाई पानी बोक्दा एउटालाई दिनभर ठिक्क हुन्छ ।” उहाँले भन्नुभयो । 

आम्बासकी निर्मला ओलीले खानेपानी योजना सञ्चालनमा नआउँदा विगत आधा घण्टामा दुरीमा रहेको खोला नजिकै खनेको इनारबाट पानी ल्याउन बाध्य भएको बताउनुभयो । खानेपानीको समस्याकै कारण दैनिकी थप कष्टकर बन्दै गएको उहाँको भनाई छ । नजिकै पानीको स्रोत नभएपछि खोला किनारमा छानिएको इनारबाट पानी बोक्दै आइरहेको उहाँले बताउनुभयो । 

सरकारले एक घर एक खानेपानी धाराको नारा लगाए पनि गाउँको बिचमा एउटा धारो नभएको ओलीले बताउनुभयो । “खानेपानीको लागि महिलाहरू रातदिन नभनी कुवा, खोला चाहर्न बाध्य हुँदै आइरहेका छौँ ।”, उहाँले भन्नुभयो ।  

कालीमाटी गाउँपालिका – ७ स्थित र्याङ, आम्बास, बाटुले, हाउ खोला, कुकुमतारा स्वामिबास लगायत झन्डै दर्जन बढी बस्तीका बासिन्दा खाने पानीबाट प्रभावित हुँदै आइरहेका छन् । 

खानेपानीको अभावका कारण आठ गाउँका झन्डै तीन सय घरपरिवार प्रत्यक्ष मारमा परेको वडा कार्यालयले जनाएको छ । 

ग्रामीण बस्तीमा खानेपानी योजनाका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारलाई बारम्बार आग्रह गर्ने गरेको भए पनि कुनै सुनुवाइ नभएको वडाध्यक्ष नैनसिंह रानाले बताउनुभयो । 

“स्थानीय सरकारले खासै बजेट छुटाउँदै न । सीमित मात्रामा आएकाले बजेटले कति योजना नै सम्पन्न गर्न सकिन्छ र ।”, उहाँले भन्नुभयो ।  ग्रामीण बस्ती छरिएको र डाँडाकाँडामा भएका कारण पनि खानेपानीको व्यवस्था गर्न थप समस्या भएको रानाको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button