तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार ग्राम परियोजना समन्वय समितिको बैठक सम्पन्न

विराटनगर । विराटनगरस्थित ताराणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम आगामी चैतको अन्त सम्ममा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गर्दै सञ्चार ग्राम परियोजना समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा रेडियो प्रसार विकास समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सञ्चार ग्रामको उद्देश्य अनुरूप लक्ष्य प्राप्तिका लागि कार्य योजनासहित समय अवधि तोकेर काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

रेडियो नेपालको आयोजनामा भएको बैठकले सञ्चार ग्रामबाट एफएम सञ्चालनका लागी चैत महिनाको पहिलो हप्ताभित्र परिक्षण प्रसारण सुरु गर्ने तथा रेडियो नेपालको वार्षिक उत्सवका दिन सञ्चार ग्राम उद्घाटन गर्ने गरी काम सम्पन्न गर्ने निर्णय गरेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले बताउनुभयो । 

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चार ग्राम पूर्ण सञ्चालनका लागी महानगरपालिकाले रेडियो नेपाललाई आवश्यक सहयोग गर्ने बताउनुभयो । रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सोचकै कारण सञ्चार ग्राम स्थापना भएकाले सञ्चार ग्रामको विकासमा महानगरापकिालको निरन्तर सहयोग रहेको उहाँको भनाई थियो । 

कार्यक्रम रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सञ्चार ग्रामको उद्देश्यसहित हाल भइरहेको काम तथा आगामी दिनमा गर्नुपर्ने थप कार्यक्रम र योजनाको बारेमा जानकारी गराउनुभएको थियो । 

सञ्चार ग्राम परियोजना समन्वय समितिका सचिव एवं महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले सञ्चार ग्रामको प्राविधिक पक्ष र विकास निर्माणका विषयमा जानकारी गराउनुभएको थियो । 

बैठकअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल, महानगरपालिकाका प्रमुख भीम पराजुली तथा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सञ्चार ग्रामको स्थलगत अनुगमन गर्नुभएको थियो । 

रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा विराटनगर स्थित खार्जीमा सञ्चार ग्राम निर्माण भएको हो । 

यसैगरि आजै सचिव अर्यालले रेडियो नेपाल धरान प्रसारण केन्द्र, नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्र तथा हुलाक निर्देशनालय विराटनगरको अनुगमन तथा निरीक्षण गरी कार्यालयबाट भइरहेको कामको बारेमा जानकारी लिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button