तपाईँ सुन्दै हुनुहुन्छः

सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयन गराउन पहल गर्छु : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सुर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने जानकारी दिनुभएको छ ।  

स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनको संयुक्त रुपमा आज यहाँ आयोजित ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकमा उहाँले जुनसुकै उपाय अपनाएर भए पनि सुर्तीजन्य पदार्थको सेवनमा रोकथाम र नियन्त्रण गर्न पहल गरिने बताउनुभयो । 

सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक रुपमा ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको जान्दा जान्दै पनि मानिस यसको कुलतबाट बाहिर निस्कन नसकेको जनाउँदै उहाँले अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भए पनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्छ भन्नुभयो । 

उहाँले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने समेत बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले नसर्ने रोगको प्रकोप भयावह रुपमा बढ्दै गएको जनाउँदै यसलाई रोकथाम गर्नका लागि पनि सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । 

उहाँले अन्तरक्रियाबाट निस्कने निष्कर्षलाई हेरेर आवश्यक परेमा मन्त्रालयबाट थप कदम चाल्ने समेत प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा सुर्तीजन्य बनेका ऐन, कानुनलाई कडाइका साथ लागू गर्नुपर्ने जानकारी दिनुभयो । 

उहाँले मासिक रुपमा कम्तीमा दुई अर्ब रुपैयाँ नेपालीले चुरोटको धुवामा उडाउने गरेको जनाउँदै त्यो भन्दा बढी मानवीय क्षति पुर्‍याउने बताउनुभयो । 

परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले सुर्तीजन्य सेवनबाट बर्षेनी हजारौँ मानिसको अकालमा नै मृत्यु हुने गरेको बताउनुभयो । यसको रोकथामका लागि नीतिमा थप संशोधन आवश्यक पर्न सक्ने जनाउँदै त्यसअघि अनुसन्धानको पाटोलाई अघि बढाउनुपर्छ भन्नुभयो । 

सो अवसरमा उहाँले परिषद्ले सुर्तीजन्य पदार्थ र नसर्ने रोगको नियन्त्रणका लागि गरेका अध्ययन अनुसन्धानका बारेमा जानकारी दिनुभयो । कार्यक्रममा शहीद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले सुर्तीजन्य पदार्थको सेवनबाट धेरै नै मानिसलाई हृदयाघात हुने गरेको बताउनुभयो ।

उहाँका अनुसार विगत १० वर्षमा हृदयाघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयाघात हुने सबैभन्दा बढी सुर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी हृदयाघात चुरोट सेवनबाट हुने गरेको छ ।

कार्यक्रममा  द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा तारासिंह बमले सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन राम्रो भए पनि सरकारले त्यसको कार्यान्वयन राम्ररी गर्न नसकेको बताउनुभयो । 

उहाँले कानुन कार्यान्वयनका लागि व्यक्तिगत सामूहिक र राजनीतिक रुपमा समेत प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डव्लुएचओ एफसीटीसीको पक्ष राष्ट्र भएको मुलुकले कानुन सोही अनुसार नै बनाए पनि कार्यान्वयन तह फितलो भएको बताउनुभयो । 

नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको र कम करका कारण सुर्तीजन्य पदार्थको मूल्य सस्तो भएको र आम गरिब जनतामा यसको प्रयोग दर उच्च भएको बताउनुभयो ।

उहाँले राज्यले बनाएको ऐन तथा निर्देशिकाले सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भए पनि वर्षौँदेखि स्वदेशी उद्योगले त्यसको कार्यान्वयन गर्न अटेरी गरेको जानकारी दिनुभयो ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको जनाउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताउनुभयो । 

उहाँले मञ्चले विभिन्न समयमा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरी अन्तरक्रिया तथा ओरिन्टिसन कार्यक्रम गरेको जानकारी दिनुभयो ।  

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाशप्रसाद साह, स्वास्थ्य अर्थशास्त्री देवी प्रसाईँ, डव्लुएचओ नेपालका नसर्ने रोग हेर्ने अधिकारी डा लोनिम दीक्षित लगायतले आफ्ना प्रस्तुतीकरण र धारणा राख्नुभएको थियो ।  रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button