तपाईँ सुन्दै हुनुहुन्छः

प्रचण्डको अगुवाइमा समृद्ध भरतपुरका लागि विकास बहस

चितवन। भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गर्न लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा ऊर्जा मन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुनेछन् । उहाँहरूसँगै जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस गर्न लागिएको हो ।

दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्त्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताउनुभयो । नारायणी तटबन्धनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । प्रतिवेदनअनुसार रु २३ अर्ब खर्च हुने छ । जसलाई वहुवर्षीय आयोजनामा राखेर यस वर्ष रु पाँच अर्ब बजेट निकासाका लागि अनुरोध गरिँदै छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ । यसलाई सरकारले लिएर काम गर्नुपर्ने बहस सुरु भएको छ । महानगरको ४० वर्ष पुरानो प्रशासनिक भवन जीर्ण बनेको छ । भवनको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । जसका लागि निर्माण गर्न रु ८५ करोड खर्च लाग्दछ । यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिँदै छ ।

शाक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई छिटो गर्ने, नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट माग गर्ने, रिङरोड सम्पन्न गर्नेलगायत कार्यक्रम बहसमा राखिँदै छन् । महानगरको धेरै भाग चितवन क्षेत्र नं ३ मा पर्दछ । यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित हुनुभएको हो । उहाँकै उपस्थितिमा बहस गर्दा कार्यक्रम प्रभावकारी हुने महानगरको बुझाइ छ । महानगर प्रमुख दाहालले यसअघि गरिएको यस्ता कार्यक्रम प्रभावकारी भएको भन्दै यसले महानगरसँगै जिल्लाको समग्र विकासका लागि सहयोग पुग्ने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button