तपाईँ सुन्दै हुनुहुन्छः

साहित्यकार रेशम गिरीको उपन्यास ‘चक्रधूम’ बजारमा

कास्की । पोखराका साहित्यकार रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधूम’ आजदेखि बजारमा आएको छ । 

उपन्यासको विमोचन गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ‘अदालतको गाईजात्राले चर्चा पाइरहेको अवस्थामा आएको अदालतकै विसङ्गतिलाई चिरफार गरिएको उपन्यासले पाठकहरूको मन पक्कै जित्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले साहित्य कर्ममा निरन्तर रुपमा लागिरहेको प्रति प्रशंसा समेत गर्नुभयो । 

“मैले पनि कुलपति हुँदा न्यायालयको अन्याय राम्ररी भोगेको छु ।” नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको जग्गा विवाद सम्बन्धी मुद्दा परेपछि करिब ३ वर्षसम्म अदालत धाउँदाको अनुभव सुनाउँदै उहाँले सरकारी निकायले नै यस्तो अवस्था भोग्नुपर्ने अवस्था छ भने जनताले कसरी न्याय पाउन सक्लान् भनी भन्ने प्रश्न गर्नुभयो । 

उहाँले न्यायालयका कारण अन्यायमा परेका व्यक्तिको कथा समेटेर लेखिएको चक्रधूमले समाजको यथार्थ प्रस्तुत गरेको भन्दै यसले नेपाली साहित्यका क्षेत्रमा विशेष महत्त्व  राख्ने धारणा राख्नुभयो । 

साहित्यकार गिरीको यसअघि ‘संविधान’ नामक मुक्तक सङ्ग्रह बजारमा प्रकाशनमा आइसकेको छ । 

विवेक हराएपछि अदालतमा निर्दोषलाई दोषी ठहर गरिएका मिसिल तयार हुँदा कसरी न्याय मर्दो  रहेछ भन्ने कुरा उपन्यासमा उल्लेख गर्न खोजिएको साहित्यकार गिरीले बताउनुभयो । ”

निजामती सेवाअन्तर्गत न्याय सेवामै कार्यरत उपन्यासकार गिरीले चक्रधूमलाई आफूले नारीवादी उपन्यासका रूपमा प्रस्तुत गरेको बताउनुभयो  । 

न्यायालयको हरेक मिसिलमा कथा र उपन्यास भेटिने बताउँदै उहाँले नारीहरूप्रति पुरुषको दृष्टिको चित्रण उपन्यासमा गरेको बताउनुभयो । उपन्यास परिबन्दमा परी दोषी ठहर गरिएका कैदीको कथामा आधारित रहेको उपन्यासकार उहाँले प्रष्ट पार्नुभयो । 


कृति माथि चर्चा गर्दै समालोचक डा.भूमिराज बस्ताकोटीले उपन्यासले एउटा गर्विलो इतिहास कायम गर्ने विश्वास व्यक्त गर्दे साहित्य यात्रामा उपन्यासले इतिहास रचिसकेको बताउनुभयो । 

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष ओमप्रसाद सुवेदीले कास्कीकोटका साहित्यकार दाजुभाइले सिङ्गो वडाकै इज्जत बढाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button