तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा बुद्धको मूर्ति अनावरण

भैरहवा । भगवान् गौतम बुद्धको मूर्ति गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्या देवी भण्डारीले अनावरण गर्नुभएको छ । 

म्यानमार सरकारको सहयोगमा भगवान् गौतम बुद्धको बहुमूल्य बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनी भएका कारण बुद्ध मूर्तिले विश्वमा शान्ति सन्देश प्रवाहमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

बहुमूल्य शिलाद्वारा बुद्ध प्रतिमा निर्माण गरी नेपाललाई उपहार प्रदान गरेर राष्ट्रिय गौरवको आयोजना समेत रहेको उक्त प्रतिमा स्थापना कार्यमा संलग्न लुम्बिनी गार्डेन फाउण्डेशन र सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । 

हाम्रो देश नेपाल विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको जन्म स्थल हो । यस ऐतिहासिक क्षेत्रले बुद्धका शान्ति, अहिंसा, करुणा, सह अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले गर्वको अनुभूति गरेको र गरिरहने उहाँले बताउनुभयो ।  

बुद्ध मूर्ति अनावरण कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी गार्डेन फाउण्डेशनका सचिव एकराज गिरी लगायतले मन्तव्य राख्नुभएको थियो । 

एउटै ढुङ्गाबाट म्यानमारका कालिगड भिक्षुहरुद्धारा निर्मित १.९ मिटर अग्लो बहुमूल्य बुद्ध म्यानमार सरकारको सहयोगमा, लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा आएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button