तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा ठुला दलका नेतृत्वमा महिला न्यून

दमौली । दुई मुख्य ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले ) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन बाँकी छ ।

ती दलका नेतृत्वमा महिलाको सङ्ख्या भने न्यून छ । काँग्रेसको पालिका तहमा महिलाको नेतृत्व शून्य छ भने एमालेको एक पालिकामा महिलाले नेतृत्व भएको छ । दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी अध्यक्ष चुनिनुभएको छ । काँग्रेसको भने दश वटै पालिकामा महिलाले नेतृत्व गर्ने अवसर पाएका छैनन् ।

एमालेको म्याग्दे, ऋषिङ, घिरिङ र देवघाट गाउँ कमिटीको अधिवेशन हुन बाँकी छ । ती स्थानीय तहमा पनि महिला नेतृत्वमा आउने सम्भावना एकदमै कम छ ।

चार स्थानीय तहको पदाधिकारीमा भने महिलाको प्रतिनिधित्व भएको छ । व्यास नगर कमिटीको उपसचिवमा सीता थापा पाण्डे, भानुका उपसचिवमा रुपा लामा, शुक्लागण्डकीमा उपसचिवमा विष्णुमाया ढकालले मौका पाउनुभएको छ ।

वडा तहको अधिवेशनमा भने एमालेका दुई महिला वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाका ८५ वडामध्ये दुई वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट शुक्लागण्डकी नगरपालिका–९ का अध्यक्षमा गीता महत र आँबुखैरेनी गाउँपालिका–२ को अध्यक्षमा सम्झना विक निर्वाचित हुनुभएको छ । गत असोजमा सम्पन्न काँग्रेसको महाधिवेशन अन्तर्गत जिल्ला चार वडामा महिला वडाध्यक्ष निर्वाचित भएका थिए । व्यास –१४ का वडाध्यक्षमा नरीमाया राना, बन्दिपुर –४ का अध्यक्षमा सीता थापा, बन्दिपुर –५ का अध्यक्षमा रीता तिवारी र ऋषिङ –१ का वडाध्यक्षमा सविना राना निर्वाचित हुनुभएको थियो । एमाले नेतृ बसुन्धरा घर्तीले अझै पनि महिलालाई नेतृत्व दिन नचाहने प्रवृत्ति कायमै रहेको र महिलाले अवसर पाए नेतृत्व गर्न सक्षम रहेको बताउनुभयो । “महिलालाई सहजै नेतृत्वमा आउन दिइँदैन, पुरुष प्रवृत्ति हाबी छ,” उहाँले भन्नुभयो ।

एमाले जिल्ला सचिव भगवती न्यौपानेले सबै पालिकाहरूमा महिलाको सक्रियता उत्साहजनक रहेको बताउनुभयो । पुरुषवादकै कारण महिला नेतृत्वमा आउनलाई समस्या भइरहेको नेपाल महिला सङ्घका अध्यक्ष पवित्रादेवी पौडेलको भनाइ छ । उहाँले भन्नुभयो “महिलालाई हेर्ने दृष्टिकोण दोस्रो दर्जाको रहेको छ , यसलाई परिवर्तन गर्न आवश्यक छ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button