तपाईँ सुन्दै हुनुहुन्छः

संस्कृति र साहित्यको जर्गेना गर्न लोकवार्ता विमर्श

काठमाडौँ । संस्कृति र साहित्यको जर्गेना गर्न लोकवार्ता विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।

लोकवार्ता परिषद् नेपालको १०औँ सम्मेलनको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद्ले मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘लोकवार्ता विमर्श तथा पुस्तक विमोचन कार्यक्रम’को उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्नुभयो । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले नेपालमा विभिन्न जाती, भाषा र संस्कृति रहेकाले सबै पक्ष मिलेर लोक संस्कृतिको अध्ययन र अनुसन्धानमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सबैको अस्तित्व जोगाउँदा नै नेपालको अस्तित्व रहने भन्दै उपराष्ट्रपति पुनले  भन्नुभयो, “सबै मिलेर संस्कृतिको खोज र अनुसन्धानमा लाग्नुपर्छ ।” परिषद्ले वर्षेनी संस्कृतिसम्बन्धी पुस्तक प्रकाशन गर्नु महत्त्वपूर्ण काम भएको उहाँको भनाइ थियो ।

पुस्तक प्रकाशनले निरन्तरता पाउनुपर्ने तथा त्यसका लागि परिषद्लाई सहयोग गर्नु सरकारको जिम्मेवारी भएको उपराष्ट्रपति पुनले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका विभिन्न विभागमध्ये लोकवार्ता र बाल साहित्य विभागले जातजाति, भाषाभाषी र धर्मावलम्बीको संस्कृतिको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्नुभयो । 

प्रतिष्ठान र परिषद् बाहिर हेर्दा फरक फरक देखिए पनि कामका हिसाबले एउटै भएको उहाँले बताउनुभयो । 

सम्मानित व्यक्ति बमकुमारी बुढाले रोल्पा मगर सभ्यता र रीतिरिवाजको भण्डार भएको बताउनुभयो । प्रतिष्ठान र परिषद्को सहयोगमा यसबारे अध्ययन अनुसन्धान अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले लोक संस्कृतिसम्बन्धी ६ पुस्तक लोकार्पण गर्नुभएको थियो । 

कार्यक्रममा  परिषद्ले बुढासँगै राज्यश्री श्रेष्ठलाई सम्मान गरेको थियो ।  

लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले लोकवार्तासँग सम्बन्धित क्षेत्रको अध्ययन, अनुसन्धान, संरक्षण तथा संवर्धनका लागि परिषद्ले गरेका कामहरूको बारेमा बताउनु भएको थियो । 

उहाँले संस्कृति र साहित्यको जर्गेना गर्ने उद्देश्यले प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने गरिएको समेत जानकारी दिनुभयो । कार्तिक ९ गते शुरु भएको कार्यक्रम १३ गतेसम्म चल्ने लोकवार्ता परिषद्का अध्यक्ष डा. खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button