तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर जिल्लामा २८ हजार ९ सय ५३ जनाले लगाए पूर्ण खोप

भोजपुर । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा २८ हजार ९ सय ५३ जनाले कोरोना विरुद्धको भेरोसेल खोप पूर्णरुपमा लगाएका छन् । जिल्लामा मङ्गलवारबाट दोस्रो मात्रा खोप अभियान समेत सुरु भएको छ । 

जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समिति भोजपुरको निर्णय अनुसार भोजपुरका स्थानीय तहहरूमा मङ्गलवारबाट दोस्रो मात्रा खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरका निमित्त प्रमुख राजु कुमार श्रेष्ठले बताउनु भयो । जिल्लाको षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा कार्तिक ९ र १० गते खोप अभियान सञ्चालन हुने श्रेष्ठले जानकारी दिनु भयो  । 

यसैगरी भोजपुर नगरपालिका, हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा कार्तिक १० र ११ गते दुई दिन खोप अभियान संचालन हुने छ । स्वास्थ्य संस्थाका खोप केन्द्रहरू मार्फत पहिलो मात्रा लगाएका व्यक्तिहरूले कोभिड १९ विरुद्धको दोस्रो मात्रा खोप लगाउन पाउने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन् । जिल्लामा हालसम्म २८ हजार ९ सय ५३ जनाले कोरोना विरुद्धको दुवै खोप लगाएका छन् । ५४ हजार ८ सय ९९ जनाले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनु भयो । 

भोजपुरमा मङ्गलवारसम्मको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ हजार ९ सय ८२ छ भने १ हजार ९ सय ३१ जना निको भई सकेका छन् । अहिले नयाँ संक्रमित भने देखिएका छैनन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button