तपाईँ सुन्दै हुनुहुन्छः

महामारीलाई नियन्त्रण गर्न ठोस योजना बनाएर अगाडि बढ्नु पर्ने

कपिलवस्तु । झाडापखालाको महामारीलाई नियन्त्रण गर्न ठोस योजना बनाएर अगाडि बढ्नु पर्ने सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लाको तौलिहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सो कुरा माग गरिएको हो । कपिलवस्तुको १० वटै पालिकाका प्रमुख तथा प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

जिल्लामा फैलिएको हैजाको प्रकोपलाई नियन्त्रण गर्न बसेको विद्को बैठकमा हैजा हुनुको कारण, यसको रोकथाम र नियन्त्रण गर्ने उपायहरूबारे छलफल गरिएको इपिडमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख अमृत पोखरेल बताउनुभयो ।

अवस्था थारै नाजुक रहेको र झाडापखालालाई नियन्त्रण गर्न सबै स्थानीय तहहरूको सहयोग सहकार्यको आवश्यकता रहेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो । 

झाडापखालालाई नियन्त्रण गर्न पालिकाको अवस्था विश्लेषण गर्न, स्वास्थ्यका कर्मचारी, विद्यालयका प्रअ, त्यहाँ काम गर्ने संस्थालाई बोलाएर पालिकाको पूर्व तयारी गर्न र रोकथाम गर्न योजना बनाउनु पर्ने प्रजिअ चक्रपाणि पाण्डेयले बताउनुभयो ।

झाडापखाला कपिलवस्तुको ५ वटा पालिकामा फैलिएको छ । शिवराज नगरपालिका , महाराजगंज नगरपालिका, बिजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र यशोधरा गाउँपालिका जस मध्ये यशोधरा गाउँपालिकामा झाडापखालाका बिरामी मात्र देखा परेका छन् अन्य ४ पालिकामा  हैजाको बिरामी देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button