तपाईँ सुन्दै हुनुहुन्छः

तिहार नजिकिएसँगै कुमालेलाई पाला बनाउन भ्याई नभ्याई

भक्तपुर । तिहार नजिकिए पछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर दीपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ । माग अनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सुर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचो, लगायतका क्षेत्रका प्रजापतिहरूलाई भ्याई नभ्याई भएको हो । 

भक्तपुर र थिमिमा उत्पादन भएको पाला भक्तपुर, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगञ्ज, भैरहवा, काभ्रे, जिरी, दोलखा लगायतका विभिन्न जिल्लामा खपत हुने गरेको छ । तर यस वर्ष पनि कोभिड सङ्क्रमणका कारण माटाका भाँडाको व्यापारमा असर परेको छ हरेक बर्ष व्यापारीले तिहार अघि नै आएर अर्डर दिएर गएका पाला बनाउने र आफूले खुद्रा बिक्री गर्न पनि पाला बनाउने गरेका छन् । तिहार नजिकिँदै गएको र अर्डर अनुसारको पाला, धुपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याई नभ्याई भएको भक्तपुर नगरपालिका १२ पोटरी स्क्वायरका राजेश प्रजापतिले बताउनुभयो ।

अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको छ । पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेशा अँगाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याई नभ्याई भएको हो । 

पछिल्लो समय तिहारमा बत्ती बाल्नकै लागि विद्युत् बत्तीको माग समेत उच्च हुने गरेको छ तर तिहारमा बिजुलीका रङ्गीचङ्गी बात्ती बालेर झिलिमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । 

केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउनुहुन्छ ।

विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो ।

कुमालेहरूले तयार भएको पाला होलसेल व्यापारीहरूलाई बिक्री गरिन्छ । होलसेल व्यापारीहरूले एउटा पालाको एकदेखी दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरूले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरू माझ पुर्‍याउने गरेको रामप्रसादले बताउनुभयो ।

कोरोना संक्रमण, माटोको अभाव र प्लाष्टिकका भाँडाको बढ्दो प्रयोगका कारण यो पेशा सङ्कटमा परेको कुमालेहरूले गुनासो गरेका छन् । 

भक्तपुर र थिमीमा झण्डै तीन सय भन्दा बढी घरपरिवार कुमाले माटोको भाडा बनाउँदै आएकोमा अहिले विस्थापित हुँदै करिब १५० घरपरिवारमा सीमित भएका छन् । 

दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम पनि बढेको छ । सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button