तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीले कटान गर्दा शुक्लाफाँटामा वन्यजन्तुको वासस्थान जोखिममा

कञ्चनपुर । कञ्चनपुरमा गत साता आएको बेमौसमी वर्षाका कारण महाकाली नदीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बन क्षेत्रमा कटान गरेको छ ।

दोधारा चाँदनी झोलुङ्गे पुलबाट करिब ३ किलोमिटर दक्षिण महाकाली नदी निकुञ्जतर्फ सोझिएको छ । दोधारा चाँदनी तर्फबाट समेत महाकाली नदीले निकुञ्जको वन क्षेत्र कटान गरेको छ ।  जसका कारण निकुञ्जमा वन्यजन्तुको वासस्थान जोखिममा परेको छ ।

वर्षेनी महाकाली नदीले निकुञ्जको बन क्षेत्र कटान गर्दै आएको छ । कटान रोकथामका लागि निकुञ्ज प्रशासनले तटबन्ध गर्न नसक्दा कटान रोकिएको छैन । निकुञ्ज कार्यालयका अनुसार गत साताको बाढीले सय बढी रुख बगाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुको पानी पिउने तथा चरन क्षेत्रमा कटान भएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले केही स्थानमा तटबन्ध गरिए पनि त्या पर्याप्त हुन नसकेको बताउनु भएको छ । हाल महाकाली नदीले कटान गरेको क्षेत्र निकुञ्जको ठुलो घासे मैदान नजिकै भएकाले बाह्रसिङ्गाको प्रमुख वासस्थान नै जोखिममा परेको हो । 

निकुञ्जमा रहेको एसियाकै सबैभन्दा ठुलो घाँसै मैदान र एकै पटक हजारौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्ड यहाँको प्रमुख आकर्षणको रुपमा रहेको छ । निकुञ्जभित्रका खोलानालामा आएको बाढीले समेत घासे मैदान कटान गरेको छ ।  बाढीले निकुञ्जभित्र प्रवेश गर्ने सबै बाटोहरू बन्द भएपछि जङ्गल सफारी पनि बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button