तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सा र रौतहटमा स्क्रब टाइफसका बिरामी बढ्दै

बीरगंज । विगत केही समय यता बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएका छन् । 

अस्पताल तथा क्लिनिकहरूमा पनि यसका बिरामी आउन थालेका छन् । नारायणी अस्पतालका चिकित्सक फिजिसियन डा. निरज सिंहले नारायणी अस्पतालमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठुला गरी रातो डाबर आउने जस्ता लक्षण भएका बिरामीहरू आउन थालेको र उनीहरूलाई परीक्षणको क्रममा स्क्रब टाइफस देखिएको बताउनुभयो । 

वर्षायाम पछि पानी जमेर यो रोग सर्ने भुसुना बढेर पनि रोगीको सङ्ख्या बढेको हुन सक्ने चिकित्सक सिंहले दाबी गर्नुभयो । 

यसै गरी वीरगंजका अन्य निजी अस्पताल र क्लिनिकहरूमा समेत यसका रोगी उपचारका लागि आउन थालेको चिकित्सकहरूले बताएका छन् । 

विशेष गरी पर्साको पोखरिया नगरपालिका र ग्रामीण क्षेत्रबाट बिरामीहरू आउने गरेको चिकित्सकहरूले बताएका छन् । अस्पतालमा आउने बिरामीहरूको प्रयोगशालामा रगत परीक्षण पछि स्क्रब टाइफस भए नभएको पहिचान हुने र सोही अनुसार उपचार पनि हुने चिकित्सकहरूले बताएका छन् । 

यसको उपचार सस्तो भए पनि समयमा उपचार नपाउँदा बिरामीको मृत्यु समेत हुने चेतावनी चिकित्सकहरूले दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button