तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण पर्वत चुवाको सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा

पर्वत । केही दिन अगाडिको अविरल वर्षाका कारण पर्वत चुवाको सिङ्गो गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । गत वर्षहरूमा असोज लागेसँगै बन्द हुने आकासे पानी यो साल भने कार्तिक लाग्दा सम्म परिरहँदा कुश्मा नगरपालिका वाड नं. ८ चुवाको गाउँ पहिरोको उच्च जोखिममा परेको हो । 

मध्य पहाडी लोकमार्ग निर्माणमा ठेकेदारको मनपरी हुँदा लोक मार्ग आसपासका बासिन्दा उठीबासको चरणमा रहेको स्थानीय मुगा पोख्रेलले बताउनुभयो । पोख्रेलका अनुसार अधिकांश यहाँ न्यून आयस्रोत भएकाहरूको घरबास पहिरोले लाने खतरा बढेकाले स्थानीय सरकारले समन्वय गरेर बासको सुनिश्चित गरिदिन आग्रह गर्नुभएको छ । 

बस्ती भित्र सडक निर्माण गर्दा पनि नाला निर्माण, ठाउँठाउँमा पानीको उचित व्यवस्थापन नगरेको हुनाले अहिले बस्ती नै ठुलो पहिरोको जोखिममा परेको आरोप समेत लगाउनुभएको छ ।

चुवाका करिब २३ घरपरिवारहरू अहिले पहिरोको जोखिममा छन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार २३ घरहरूलाई तत्कालै स्थानान्तरण गर्न नगरपालिकासँग माग गरेको बताउनुभयो । वडासँग पर्याप्त बजेट नभएको हुनाले नगरपालिका, प्रदेश र केन्द्र सरकारसँग माग गरेर जोखिममा परेका घरहरूको व्यवस्थापन गरिने अध्यक्ष क्षेत्रीको भनाई छ ।

चुवाको सिगों वस्ति जोखिममा परे पछि कृषि पेशामा निर्भर यहाँका सबै घरपरिवारको आयस्रोत बन्द हुने खतरा छ । उनीहरूले लगाएको खेती समेत निरन्तरको वर्षाले गर्दा भल बाढी आएर बगर बनाएको छ । बस्तीमा विभिन्न ठाउँमा पहिरो मात्र होइन जमिन भासिएको हुनाले पनि चुवाका स्थानीयहरूलाई घरबासको चिन्ताले पिरोलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button