२०७८ साल मंसिर १९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिमैत्री बन्दै थुलुङ दूधकोशी गाउँपालिका

सन्तोष राउत २०७८ कार्तिक ९ गते १५:४८
अनलाइन सेवाको शुरुवात गर्दै थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष राई 

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विद्युतीय माध्यमबाट सेवा सुरु गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईले विद्युतीय राजस्व प्रणालीको शुरु गर्दै गाउँपालिकालाई प्रविधिमैत्री बनाउने योजना स्वरूप विद्युतीय सेवा सुरु गरेको बताउनुभयो ।

गाउँपालिकाबाट प्रवाह हुने सेवा नागरिकले सहज रुपमा लिन सकुन् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट सेवा सुरु गरेको र अब नागरिकले जुनसुकै स्थानबाट पनि गाउँपालिकामा कर तिर्न सक्ने राईको भनाइ छ । 

गाउँपालिकाको मातहतमा करदाताको रुपमा दर्ता भएका सेवाग्राहीले इन्टरनेटको पहुँच मार्फत आफ्नो युजर नाम र पासवर्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट आफ्नो व्यक्तिगत विवरण, सम्पत्ति विवरण, व्यवसाय सम्बन्धी विवरण हेर्न मिल्ने र कर तिरेको विवरण हेर्न, व्यवसाय कर, मालपोत सम्पत्ति कर लगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइन मार्फत सम्पादन गर्न सक्ने गरी अनलाइन प्रणाली करदाता पोर्टल तयार गरिएको बताइएको छ ।

उक्त प्रणालीको प्रयोग गरी सुरक्षित र सहज तरीकाले विभिन्न कर तथा शुल्कहरू अनलाइनको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । हालसम्म एक लाख २३ हजार १४३ रुपियाँ राजस्व अनलाइन प्रणालीबाट नै सङ्कलन भइसकेको गाउँपालिकाले जनाएको छ ।

अनलाइन सेवा शुरु भएपछि जिल्ला बाहिर विभिन्न कामले बस्ने स्थानीय लाभान्वित हुने भएका छन् । थोरै कर तिर्न पनि हजारौँ रकम खर्च गरेर गाउँपालिका धाउनुपर्ने बाध्यता कम भएको स्थानीय बताउँछन् ।

सेवाका लागि वडा कार्यालयमा आफ्नो मोबाइल नम्बर, इमेल ठेगाना र व्यवसाय वा मालपोत विवरण सहित करदाताको रुपमा दर्ता हुनुपर्ने छ । वडा कार्यालयमा स्वयम् व्यक्ति वा इमेल मार्फत सम्पर्क गरी आवश्यक कागजात पेश गरेर करदाताको रुपमा सूचीकृत भई करदाताको सङ्केत नम्बर र नयाँ आन्तरिक सङ्केत नम्बर प्राप्त गर्नुपर्ने छ ।

त्यसपछि इ–सर्भिस डट थुलुङ दुधकोशी गाउँपालिका डट जिओभि डट एनपिमा गई नयाँ प्रयोगकर्ताको रुपमा रजिस्टर गर्नुपर्दछ । आफ्नो युजर र पासवर्ड लगइन गरेपछि भुक्तानी गएर कर तिर्नुपर्ने विवरण हेरी अनलाइन भुक्तानी सेवा प्रदायक ई–सेवाबाट भुक्तानी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

कर तिर्नुपर्ने विवरण केही नदेखिएको खण्डमा करको प्रकार छनौट गरी तथा निर्धारण गरी आफूले तिर्नुपर्ने कर अनलाइन भुक्तानी सेवा प्रदायक इ–सेवाबाटै भुक्तानी गर्न सकिन्छ । करदाता पोर्टलमा रजिस्टर भइसकेपछि इ–सेवाको मोबाइल एपमा गएर स्थानीय सरकारमा आफ्नो करदाता नम्बर राखेपछि तिर्नुपर्ने करको रकम देखिन्छ ।

सम्बन्धित