तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चमा आज पनि इजलास बसेन

सर्वोच्च अदालत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरुबीचको विवादका कारण सर्वोच्च अदालतमा आज पनि इजलास बस्न सकेन ।
न्यायधीशहरु प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नका विषयमा आज पनि छलफलमा बसे पनि इजलास बस्न नसकेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज २ सय १६ मुद्दाको सुनुवाइका लागि एक एकल र ७ वटा संयुक्त इजलास गठन गर्नुभएको थियो । ती कुनै पनि इजलास नबसे पनि मुद्दाको सुनुवाइ हुन सकेन । 

सर्वोच्चमा आज प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित हुनुहुन्थ्यो । सर्वोच्चका न्यायाधीशहरू भोलि पनि छलफलमा बस्ने हुनुभएको छ । न्यायधीशहरु छलफलमा बस्ने भएपछि भोलिको इजलास बस्ने सम्भावना पनि कम छ । 

प्रधानन्यायाधीश र न्यायाधीशको विवादका कारण सोमबारदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशहरुले आज प्रधानन्यायाधीश जबरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानन्यायाधीश जबराले विवादमा मुछिएका अन्य न्यायाधीशले राजीनामा गरे आफू पनि राजीनामा गर्न तयार रहेको बताएको स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश विवादमा तानिँदै गए पनि नेपाल बार एसोसिएसन, पूर्व न्यायाधीश फोरम नेपाल र चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति जारी गरेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button