तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्षको रहर लाग्दो व्यवसाय

तनहुँ । भानुभक्त पोख्रेल तनहुँको बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष हुनुहुन्छ । जनप्रतिनिधि भए पनि उहाँको स्वभाव भिन्न प्रकारको छ । जनप्रतिनिधि हाकिमको स्वभावले नभई जनता, किसान र मजदुर भएर काम गर्नुपर्छ भन्ने सोच उहाँको छ ।

उहाँले भन्नुभयो “ माछापालन व्यवसायबाट मैले राम्रो आम्दानी गर्दै आएको छु । मेरो प्रेरणाले वडावासी समेत व्यवसाय तर्फ उत्साहित भएर लागेका छन् । ” उहाँले स्थानीयवासीलाई उत्पादनमा सहभागी गराउन र  काम गरेर खानुपर्छ भन्ने सन्देश दिन पनि आफू व्यवसायमा संलग्न रहेको बताउनुभयो 

बन्दिपुर कृषि फार्म दर्ता गरी उहाँले हाल तीन पोखरीमा माछा पाल्नुभएको छ । करिब तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा झण्डै तीन हजार माछा रहेको छन् । माछा बिक्रीको लागि पोखरीमा तयारी अवस्थामा  छन् । उहाँले भन्नुभयो, “हिजो सोमबार मात्रै एक सय बीस किलो माछा बिक्री हुँदा रु पचास हजार बराबरको बिक्री भएछ ।”  

सामाजिक सञ्जाल फेसबुकमार्फत ‘पोखरीको माछा निकाल्न लागिएकोले आवश्यक पर्नेले घरमा आएर लैजान सक्नुहुनेछ’ भनी स्टाटस राखिएपछि उक्त माछा दुई घण्टामै विक्री भएको उहाँले बताउनुभयो । 

उहाँका श्रीमती मेनका भट्टराईले माछाको हेरचाह गर्दै आउनुभएको छ । पोखरीको रेखदेखमा उहाँले सहयोग गरे पनि माछा बिक्रीको लागि बजार क्षेत्र हेर्ने गरेको वडाध्यक्ष पोख्रेल बताउनुहुन्छ ।  पोखरीमा कमन कार्प र पङगास जातका माछा छन् । पङगास प्रतिकिलो रु पाँच सय र कमन कार्प रु चार सयमा बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । 

पोखरी निर्माणको लागि भेटेरिनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्रबाट दुई पोखरीको लागि रु पचास हजार र कृषि ज्ञान केन्द्रबाट माछाका भुरा निःशुल्क उपलब्ध गराएको हो । सुरुमा करिब दुई लाख लगानी गर्नुभएका पोख्रेल दम्पतीले दुई लाखको माछा बिक्री हुने विश्वास गरेका छन् । धान, मकै र तरकारी खेती भन्दा माछापालन व्यवसायबाट राम्रो आम्दानी हुने गरेको जनाइएको छ ।

विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठ, प्राविधिक रुद्र ठकुरी र गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेको निरन्तर प्राविधिक सहयोग लिएर वडामा  नमुना माछा फार्म बनाउन प्राथमिकता दिइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button