तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी वर्षाले जुम्लाको २० प्रतिशत धान बालीमा क्षति

जुम्ला । बेमौसमी वर्षाले जुम्लामा कुल उत्पादन भएको मार्सीधानको २० प्रतिशत धान बालीमा क्षति भएको छ । जुम्लामा धान खेती भएको २९ सय हेक्टर क्षेत्रफल मध्य १८ हेक्टर क्षेत्रफलको धानमा क्षति भएको थियो । अनुमानित उत्पादन हुने ६ हजार बढी मेट्रिक टनको २० प्रतिशत धान वर्षाले क्षति भएको हो । 

१४ सय ५० हेक्टर काटेको धान भिजेको छ । साथै, १८ हेक्टर धान खेतीमा क्षति भएको प्रशासनले जनाएको छ । जसमा तिला गाउँपालिकाको १३ हेक्टर फाँर्सीफाँट बगरमा परिणत हुँदा १ सय ४१ मेट्रिक टन मार्सीधान क्षति भएको छ । 
यता तातोपानीको लाछु ज्युलो, राँका, बाइराँका, गिडिखोला, नगरलगायतका ज्युलामा ५ हेक्टर मार्सीफाँट डुबानमा पर्दा २ सय २९ मेट्रिक टन मार्सीधान क्षति भएको तथ्याङ्क प्रशासनले सार्वजनिक गरेको छ । 

करिब दर्जन बढी विद्युत् गृह, विद्यालय, सिचाइ आयोजना, पुल र सडक आयोजनामा वर्षाले क्षति पुर्‍याएको छ । 

तथ्याङ्क सङ्कलनमा ढिलाइ

जुम्लामा बेमौसमी वर्षाले गरेको क्षतिको विवरण सङ्कलनमा ढिलाइ भएको छ । अविरल वर्षाका कारण आएको बाढीले जुम्लाको कृषि क्षेत्र र भौतिक संरचनामा ठुलो क्षति भएपनि यकिन तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । जसका कारण हाल सम्म राहत उद्धारका कार्यक्रमहरू हुन सकेका छैनन् । 

विवरण सङ्कलनका लागि प्रभावित क्षेत्रमा टोली खटिए पनि सत्य तथ्य विवरण दिने भन्दै स्थानीय तहले ढिला गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाँइले बताउनुभयो । उहाँका अनुसार आंशिक विवरण आएपनि पूर्ण विवरण आउन बाँकी छ । 

कति किसान प्रभावित भए ? क्षतिको जम्मा लागत कति हो भन्ने यकिन विवरण अझै आउन सकेको छैन ।   समयमै क्षतिको यकिन विवरण नआउँदा राहत र उद्धारमा ढिलाइ हुने प्रजिअ प्रसाइको भनाई छ ।

छिटो विवरण ल्याउन स्थानीय तहलाई ताकेता गरेको तर आजभोलि भन्दै समय बितेको प्रशासनले जनाएको छ । यद्धपी, अबको ३/४ दिनमा जिल्लाभरिकै पूर्ण विवरण आउने प्रजिअ विजया प्रसाइको भनाई छ । 

उता विभिन्न वैदेशिक मुलुकमा रहेका नेपाली दाजुभाइले किसानका लागि राहत पठाउने तयारी गरेको भएपनि सही तथ्याङ्क नहुँदा राहत रोकिएको कृषि विज्ञ राज शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विदेशबाट जुम्लाका पीडितको तथ्याङ्क पठाउन र सोहीअनुसार राहत पठाउने भनिरहेका छन् । तर जुम्लामा अझै पूर्ण तथ्याङ्क आएको छैन । क्षतिको विवरण सङ्कलनमा ढिलासुस्ती गर्नु राहत उद्धारमा ढिला हुनु हो । स्थानीय तह प्रशासन जागरूक नभएको देखियो ।” उता प्रशासनले क्षतिको विवरण सङ्कलन गर्नका लागि तातोपानी, लीला लगायतका प्रभावित स्थानीय तहमा टोली खटिएको बताएको छ । 

विद्यालयको मात्रै १ करोड ६६ लाख क्षति

बाढीले बगर बनेको जुम्लाको नेत्र ज्योति मावि विद्यालय, तस्बिर : सागर परियार ।

बेमौसमी वर्षाले जुम्लाको कृषि क्षेत्रपछि भौतिक संरचनामा ठुलो क्षति गरेको छ । प्रशासनले सङ्कलन गरेको क्षतिको आंशिक तथ्याङ्क अनुसार तातोपानी ४ स्थित नेत्र ज्योति माध्यमिक विद्यालय बाढीले बगाउँदा १ करोड ६६ लाख ३५ हजार बराबरको क्षति भएको छ । 

विद्यालयका प्रधानाध्यापक झाज्वल्यराज न्यौपानेका अनुसार साढे ६ सय विद्यार्थी रहेको उक्त विद्यालय बाढी सँगै कक्षा कोठा,पुस्तकालय,कम्प्युटर कक्ष लगायत सबै सामाग्री बगेपछि हाल पठनपाठनमा समेत समस्या भएको छ । 

नेत्र ज्योति विद्यालयको पुनर्निर्माणमा सबै सरकारी निकाय तथा गैसस जुटेका छन् । बगर बनेको उक्त विद्यालय पुर्ननिर्माणको काम शुरु भएको छ । पुरै विद्यालयनै तहसनहस भएकोले पुर्ननिर्माण हुन कति समय लाग्ने टुङ्गो छैन । 

साथै बाढीले तातोपानी ७/८ का किसानका १ सय ५२ बढी भेडा बगाउँदा करिब ३ करोड ८ लाख क्षति भएको छ । भने, तातोपानी ४ कै लिफ्ट सिचाई आयोजना बगाउँदा ४० लाख । तिला गाउँपालिका ४ निवासी राम प्रसाद चौलागाइको खुद्रा पसल बगाउँदा ४ लाख क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालय जुम्लाको क्षतिको आंशिक तथ्याङ्क अनुसार हाल सम्म जुम्लाका २ करोड २० लाख बढीको मात्रै क्षति भएको देखिएको छ । भने, बाँकी विवरण आउन बाँकी छ । लागत सहित क्षतिको ८० विवरण आउन बाँकी रहेको अनुमान गरिएको छ । 

विवरण सङ्कलन गर्न फिल्डमै खटिएका तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने राहत दिँदा वास्तविक पीडित किसान नछुटुन्, बिचौलिया नमोटाउन भन्नका लागि वास्तविक तथ्याङ्क सङ्कलन गर्दा ढिलाइ भएको बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button