तपाईँ सुन्दै हुनुहुन्छः

धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले हालैको बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । 

मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदलमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवहरू सदस्य रहनुभएको बताउनुभयो । 

यसैगरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने निर्णय गरेको छ । 

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो  । 

यसैगरी सरकारले नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद् बैठकले कोभिड १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button