तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रणालीमा सुधार आवश्यक: अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ ।

पार्टीको जनकपुरधाम नगर कमिटीले जनकपुरधाममा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले राम्रो मान्छे राजनीतिक आउन कठिन भएको बताउनुभयो ।

अध्यक्ष यादवले निर्वाचन आउन बाँकी नै भएको बेलामा ठूला ठेकेदार तथा पैसावालाहरूको बोलवाला बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै राम्रो तथा शुद्ध आचरण एवं विचार भएको मान्छे राजनीतिमा टिक्न कठिन हुने उल्लेख गर्नुभयो । 

मिश्रित निर्वाचन प्रणाली देशका लागि हितकर नभएको बताउँदै अध्यक्ष यादवले प्रत्यक्ष कार्यकारी प्रमुखको निर्वाचन आवश्यक भएको बताउनुभयो ।

उहाँले हालै आएको भीषण वर्षा तथा हावाहुरीले धान तथा तरकारी बालीमा ठूलो क्षति गरेको बताउँदै सरकारलाई शीघ्र राहत कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले तीनै तहका सरकारबिच सहकार्य गरेर मुलुकलाई चाँडो भन्दा चाँडो शान्ति र समृद्धिको बाटोमा लान जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button