तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीशहरु छुट्टै छलफलमा बसेपछि सर्वोच्चको इजलास प्रभावित

File Photo

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराका विषयमा धारणा बनाउन भन्दै सर्वोच्च अदालतका १३ न्यायाधीश छुट्टै छलफलमा बसेपछि आज सर्वोच्चका कुनै पनि इजलास बस्न सकेन । 

प्रधानन्यायाधीश जबराले संवैधानिक निकाय तथा मन्त्रिपरिषदमा भागबण्डा लिएको,  सो विरुद्ध परेका रिटहरूको सुनुवाइ विवादित बनाएको लगायतका काम कारबाहीले न्यायपालिकालाई विवादमा ल्याएको भन्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशसहित १३ न्यायाधीशहरू छुट्टै छलफलमा बसेपछि आज सर्वोच्चमा कुनै पनि इजलास बस्न नसकेको हो । 

सर्वोच्चमा आज २ सय १६ मुद्दाको सुनुवाइका लागि सात वटा इजलास गठन भएका थिए । सर्वोच्चले आजै न्यायाधीशहरूको पूर्ण बैठक फुलकोर्ट पनि बोलाएको थियो । 

न्यायाधीशहरू इजलासमा समेत नबसी छुट्टै बैठक बसेपछि आज बस्ने भनिएको फुलकोर्ट बैठक समेत बस्न सकेन । 

सर्वोच्चले फुलकोर्ट बैठकमा सहभागी हुन सबै न्यायाधीशलाई सूचना गरेको भए पनि न्यायाधीशहरू आकस्मिक बैठकमा बसेपछि समय अभावका कारण फूलकोर्ट बैठक र कुनै पनि इजलास बस्न नसकेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सोमबार प्रधानन्यायाधीशले नेपाल बार एसोसिएसनका प्रतिनिधिसमेत सहभागी हुने गरी फुलकोर्ट बैठक बोलाउनुभएको थियो । 

मङ्गलवार सर्वोच्चका १३ न्यायाधीशले प्रधानन्यायाधीश जबरासँग भेटेर छलफल गर्ने भएपछि सोही दिनको इजलास समेत प्रभावित हुने देखिएको छ । 

न्यायाधीशहरूको छुट्टै बैठकमा न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्द मोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टङ्क बहादुर मोक्तान, प्रकाश कुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button