तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चेश्वर गाउँपालिकामा कर्मचारीको अभाव

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारीको चरम अभाव भएको छ । 

कर्मचारी अभावका कारण कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । 

कर्मचारी अभावका कारण अहिले वर्षाका कारण विपद्को सामना गरिरहेका घरपरिवारलाई समस्या भएको छ । केही राहत पाउने आशा गरेका बाढी पहिरो पीडितहरू रित्तो हात फर्किएको पञ्चेश्वर–४ का अम्मर बहादुर चन्दले बताउनुभयो । 

गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताउनुभयो । 

गाउँपालिकाको वडा न.१ बाहेकका सबै वडाहरूमा वडा सचिव नभएको उहाँले बताउनुभयो । वडा सचिव नहुँदा ३ जना वडा अस्थायी प्राविधिकहरूले ६ वटै वडाको दोब्बर काम हेरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बागले बताउनुभयो । 

गाउँपालिकाका सबै शाखाहरूमा कर्मचारी अभाव रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । गाउँपालिका स्थापना देखिनै कर्मचारीको अभाव रहेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षमा तीन महिनाका लागि आएको लेखापालको काज फिर्ता भएपछि समस्या भएको छ । 

अहिले गाउँपालिकाका इन्जिनियरलाई निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी दिइएको छ । 

गत हप्ता भएको अविरल वर्षाका कारण बाढी पहिरोमा पञ्चेश्वरका ५० बढी परिवारको घर भत्किएको छ भने, दुई सय बढी किसानका खेतीयोग्य जमिन बाढीले बगाएको छ । 

उनीहरूलाई राहत दिने कार्यक्रम भए पनि कर्मचारी अभावका कारण दिन नसकिएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो ।

बैतडी सदरमुकाममा गएको हप्तादेखि खानेपानीको हाहाकार
बैतडी सदरमुकाममा गएको हप्तादेखि खानेपानीको हाहाकार भएको छ । 

गत साता परेको अविरल वर्षाका कारण खसेको पहिरोले खानेपानीको मुहानमा क्षति पुर्‍याएपछि सदरमुकाम क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । 

सदरमुकामबाट झन्डै ६ किलोमिटर टाढा रहेको माड खोला मुहानमा पहिरो खसेपछि सदरमुकाममा आउने खानेपानी अवरुद्ध भएको हो । 

मुहानसहित पाइप लाइनमा समेत पहिरोले क्षति पुर्‍याएको बैतडी नगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष कर्णबहादुर चन्दले बताउनुभयो ।

सदरमुकाम क्षेत्रमा खानेपानी अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा होटल व्यवसायी परेका छन् । पानी नहुँदा होटल व्यवसाय सञ्चालनमा निकै समस्या भएको व्यवसायी अम्बादत्त भट्टले बताउनुभयो । 

सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार बढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । 

खानेपानीको अभाव हुँदा सदरमुकामको शाहीलेक, गढी र गोठलापानीका बासिन्दाहरूलाई झन् समस्या भएको छ । 

पानीको अभावमा शौचालय समेत प्रयोग गर्न मुस्किल भएको स्थानीयवासीले बताएका छन् ।

बैतडीमा दुई हजार सात हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति
बेमौसमी वर्षाका कारण बैतडीमा दुई हजार सात हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति भएको अनुमान गरिएको छ । 

जिल्लामा ९ हजार हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा ३० प्रतिशत क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो । 

अहिले सबै ठाउँको विवरण आई नसकेको भए पनि कम्तीमा ३० प्रतिशत बाली नोक्सान भएको उहाँले बताउनुभयो । 

सिगास गाउँपालिकाको ढुंगाड, डिलाशैनीको गोकुलेश्वर र पाटन क्षेत्रमा धान बालीमा बढी क्षति पुर्‍याएको चन्दले बताउनुभयो । 

पाटनमा २ हजार ५ सय हेक्टरमा धान खेती हुने गरेकोमा ५ सय ५० हेक्टर जमिनमा लगाएको धान बाली पूर्ण रुपमा नष्ट भएको छ भने ६ सय ९० हेक्टर जमिनमा लगाएको धान बालीमा आंशिक क्षति पुगेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । 

धान उत्पादनको पकेट क्षेत्र मानिएको पाटनमा यो बर्ष वर्षाले धान उत्पादनमा कमी आउने कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर क्षेत्रमा पनि धान बालीमा वर्षाले क्षति पुर्‍याएको छ । किसानहरूले भित्र्याउन नपाएको धान बालीमा क्षति पुगेको हो । 

गोकुलेश्वरमा १ हजार ४४ हेक्टरमा धान खेती हुने गरेको २ सय हेक्टर जमिनको धान बाली पूर्ण रुपमा नष्ट भएको जानकारी आएको कृषि प्रसार अधिकृत चन्दले बताउनुभयो । 

यस्तै १ सय ५० हेक्टर जमिनमा लगाइएको धान बालीमा आंशिक क्षति पुगेको छ । 

जिल्लाको ढुंगाड क्षेत्रको भने यकिन तथ्याङ्क अझै आई नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

धान खेती लगाएको जमिन पुरै बगरमा परिणत भएकाले त्यो क्षेत्रमा बढी नोक्सानी भएको छ । 

बैतडीमा १८ हजार ९ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको भए पनि यो बर्ष ३० प्रतिशतले उत्पादनमा कमी आउने आँकलन गरिएको छ । 

अन्य वर्षको तुलनामा यो बर्ष जिल्लामा खाद्यान्न आयातमा वृद्धि हुने देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button