तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा २० लाख डलरमा एन्फा एकेडेमी निर्माण हुँदै

कास्की ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । अखिल नेपाल फुटबल एसोसिएसनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दै छ ।फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिनु भयो । थापाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ । ३४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलनको सम्झौता समेत भैसकेको उहाँले बताउनुभयो ।

‘डीपीआर बनिसक्यो । अहिले वातावरणीय प्रभाव मूल्याङ्कन –इआए) को काम अन्तिम चरणमा छ । प्रतिवेदन मन्त्रालयमा पुगिसक्यो,’ उहाँले भन्नु भयो , ‘मन्त्रालयबाट पास हुनेवित्तिकै काम सुरु हुन्छ ।’ अभ्यासका लागि ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय लगायत संरचना त्यहाँ बनाइने छ ।

ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समूहको अभ्यास र ट्रेनिङहरू सञ्चालन गर्न मिल्ने संरचना तयार हुनेछ । सोही ठाउँमा ८० जना बालबालिकालाई अभ्यासका लागि नियमित राख्ने योजना रहेको थापाले बताउनु भयो । यहाँबाट अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन गर्न सकिने छ । यहाँ संरचना निर्माणका लागि फिफाले २० लाख डलर पठाएको छ ।

पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने बताइएको छ । चरणबद्ध रुपमा ८० देखि ९० करोडसम्म लगानी हुनेछ । तर, प्रस्तावित ठाउँ जोखिमयुक्त रहेकोले संरक्षणको काम नेपाल सरकारले गर्नुपर्ने प्रस्ताव छ । इदी र मर्दी खोलाको दोभानमा रहेको जग्गामा सेण्टर निर्माण हुने भएकोले खोलाको जोखिम बढी रहेको एन्फा कास्की अध्यक्ष मिलन गुरुङले बताउनुभयो ।

‘जग्गा राम्रो छ । भूगोल र हावापानी सुन्दर छ,’ उहाँले भन्नु भयो , ‘तर खोलाको जोखिम कायम छ । त्यसलाई तटबन्ध गरेर संरक्षण गर्नुपर्छ । प्रदेश र सङ्घ सरकारले सहयोग गर्ने बचन दिएको छ ।’

उहाँका अनुसार संरक्षणका लागि भने फिफाले लगानी गर्दैन । यसअघि नै गाउँपालिका र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत १ करोडको काम भैसकेको छ । अझै ४ करोड भन्दा बढी लाग्ने बताइएको छ । प्रस्तावित परियोजनाको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समेत अवलोकन गर्नु भएको छ । उहाँले तटबन्धका लागि आवश्यक बजेट प्रदेश सरकारले विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button