तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन सम्पन्न

स्याङ्जा । वालिङमा प्रथम शिव स्मृति स्याङ्जा जिल्ला स्तरीय खुल्ला डबल म्यान ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । 

वालिङ नगरपालिका वडा नं. ८ भीमटारीमा अवस्थित भीमटारी युवा क्लबले भीमटारी सामुदायिक अध्ययन केन्द्रको सहकार्यमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो । 

आइतबार प्रतियोगिता समापनका अवसरमा विजयी खेलाडीहरूलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले  बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

मन्त्री गुरुङले खेल क्षेत्रको विकास र खेलाडीहरूको क्षमता विकास सँगसँगै लुकेर रहेका नयाँ नयाँ प्रतिभाहरूलाई अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं नेपाली काँग्रेस गण्डकी प्रदेशका सचेतक भागवतप्रकाश मल्ल, वालिङ नगर प्रमुख दिलीप प्रताप खाँणले नयाँ नयाँ खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न र अग्रज खेलाडीहरूलाई खेल क्षेत्रमै रहिरहने वातावरण सिर्जना गर्नका लागि ब्यवसायिकतासँगै जोड्नुपर्ने धारणा राख्नुभयो ।

शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएको प्रतियोगितामा ए र सी वर्गका ६० टिमहरू सहभागी भएका खेल संयोजक सचिन मल्लले जानकारी दिनुभयो । 

प्रतियोगितामा ए वर्गतर्फ प्रथम बुद्धि राना र महेश राना आमडाली, द्वितीय दीपक राना र प्रकाश गुरुङ स्वरेक महापुर, तृतीय आयोजकका सचिन मल्ल र सुवास रेग्मी हुनुभएको थियो । त्यस्तै सी वर्गतर्फ प्रथम नवीन र हरि गल्याङ, द्वितीय विष्णु र कृष्ण स्वरेक महापुर, तृतीय याम र चुरामणि भुम्रे हुनुभएको हो ।

प्रतियोगिताका विजयी समूहहरूलाई मन्त्री गुरुङ, प्रदेश सांसद मल्ल र नगर प्रमुख खाँणले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । 

ए र सी दुवै वर्गबाट प्रथम, द्वितीय र तृतीय हुने समूहहरूले क्रमशः नगद रु. २० हजार, १२ हजार र ५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका आयोजक क्लबका अध्यक्ष सूर्य रेग्मीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button