तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला उद्यमी सम्मेलन सम्पन्न

वीरगञ्ज । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने निष्कर्ष सहित वीरगन्जमा नेपाली महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । 

सय जना भन्दा बढी महिला उद्यमीको सहभागिता रहेको सम्मेलनबाट उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायका विभिन्न पक्षमा वृहत् छलफल भएको सम्मेलन आयोजक नेपाली उद्यमी मञ्चका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो । 

सम्मेलनमा प्रदेश नं २ का ऊर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले आर्थिक रुपमा महिला सशक्तीकरण विना अपेक्षित आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताउनुभयो । 

आर्थिक रुपमा महिला सशक्तीकरणको विषय जोडतोडले अगाडि आए पनि नेपालका महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको अवसर नपाएको मन्त्री शर्माले उल्लेख गर्नुभयो । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्यममा महिलाको उल्लेख्य सहभागिता आवश्यक भएको भन्दै महिला उद्यमी र उद्यमशीलता प्रवर्द्धनमा सङ्घले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगन्जकी ८० वर्षीया ज्येष्ठ महिला उद्यमी भगवती अग्रवाल सहित १० जना महिला उद्यमीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button