तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ११ पुग्यो, ३७ जना अझै बेपत्ता

काठमाडौँ । केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा आजसम्म १ सय ११ जनाको मृत्यु भएको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार ३७ जना अझै बेपत्ता छन् । बाढी पहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको हो ।

मुलुकभर गरेर कुल ४२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना बेपत्ता भएका जनाइएको छ । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका तथा ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल १८६ वटा पशु चौपाया मरेको जनाइएको छ ।

उक्त अवधिमा एक हजार १८८ घर परिवार विस्थापित भएका छन् । 

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, मानिसको उद्धार तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button