तपाईँ सुन्दै हुनुहुन्छः

१०० दिनभित्र नतिजा आउने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आज सानो ठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण एवं अवलोकन गरेको छ ।

निरीक्षणका क्रममा शिक्षामन्त्री पौडेलले कर्मचारीलाई १०० दिनभित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभयो ।

उहाँले आफू पनि कर्मचारी भएर दिन रात काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्था सुधार्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

शिक्षामन्त्री पौडेलले कर्मचारीले हुने र गर्न सक्ने काम चुस्त रुपमा गर्नुपर्ने तथा हुनै नसक्ने काम छोडिदिनुपर्ने बताउनुभयो ।

उहाँले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने, एक बर्से र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिनुभयो ।

शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले कार्ययोजना अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिँदै सहजीकरणका लागि पहल गर्ने बताउनुभयो । 

हिजो मात्र शिक्षामन्त्री पौडेल नेतृत्वको टोलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरेको विभिन्न कार्यक्रम र प्रविधिको अवलोकन गरेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button