तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् सडक र टेलिफोन अवरुद्ध हुँदा जनजीवन कष्टकर

अछाम ।  करिब एक हप्तादेखि विद्युत् र सञ्चार टेलिफोन सेवा अवरुद्ध हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।

अविरल वर्षाका कारण बाढी पहिरोसँगै विद्युत्, ग्रामीण सडक, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाबासीको जनजीवन कष्टकर बनेको हो।

बाढी पहिरोसँगै बिद्युत् लाइन अवरुद्ध हुँदा जिल्लामा नेपाल टेलिकमको टावरले समेत काम गर्न छोड्दा नागरिकहरूको जनजीवन कष्टकर बनिरहेको छ ।

जिल्लामा बिजुली बत्ती नहुँदा आम नागरिकसँगै व्यवसायी, बैङ्क र सरकारी कार्यालयको कामकाज ठप्प रहेको छ भने जिल्लामा सञ्चालित विद्युतीय सञ्चार माध्यम समेत बन्द रहेका छन् ।
हप्ता दिनदेखि जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो र पत्रपत्रिका प्रकाशन र प्रसारण हुन सकेका छैनन् ।

बैङ्क तथा सरकारी कार्यालयले समेत सहज रुपमा सेवा प्रवाह गर्न सकिरहेका छैनन् । जिल्लाका पालिकाहरूमा अनलाइनमार्फत गरिने सम्पूर्ण कामकाज ठप्प भएका कर्मचारी बताउँछन् ।

विपद् कै समयमा बिद्युत्सँगै टेलिफोन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको छ ।

टेलिफोन सम्पर्कको अभावमा जिल्लामा एक अर्को ठाउँको अवस्था बुझ्न समेत समस्या हुँदा बाढी र पहिरोबाट भएको क्षतिको विवरण समेत सङ्कलन गर्न समस्या भइरहेको छ ।

टेलिफोन सम्पर्क नभएको कारण जिल्ला अस्पतालमा लडेर उपचार गर्न आएका ढकारीका बालकको ज्यान जाँदा ३ दिनपछि पोष्टमार्टम गरी दुई जनाले नै शव बोकेर घर फर्किनु परेको छ ।

यस्तै बाटो अवरुद्ध हुँदा तत्कालीन बस्ती गाविसका निवर्तमान उपाध्यक्ष पदमसिंह धामी बिरामी हुँदा १० घण्टा स्ट्रेक्चरमा बोकेर जिल्ला अस्पतालमा पुर्‍याएको र बाहिर रेफर गरेपछि बाहिर लिन नपाउँदै  बिहीबार राति ज्यान गएको उहाँका आफन्त लोकमान धामीले बताउनुभयो ।

बाढी तथा पहिरोका कारण ग्रामीण सडकहरू अवरुद्ध हुँदा अछामबाट जिल्ला बाहिरिने तथा जिल्ला भित्रिनेहरूलाई समेत निकै सास्ती भइरहेको छ ।

लगातारको वर्षाका कारणले खोला किनार आसपास बसोबास गर्ने नागरिकको जनजीवन झनै कष्टकर भइरहेको छ । नदी किनारमा बढेको बहावका कारण खानेपानीको नहर र पाइप समेत बगाउँदा खानेपानीको समेत समस्या भइरहेको छ ।

साँफेबगर तथा कर्णाली नदी आसपास बसोबास गर्ने स्थानीय खोलमा आउने धमिलो पानी पिउन बाध्य भएका हुन् । जिल्लामा विद्युत्, नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा मात्रै नभएर सडक सञ्जाल समेत क्षत विक्षत भएका छन् ।

वर्षामा अवरुद्ध बनेका सडक मर्मतका लागी विभिन्न पालिकाले तयारी गरिरहेका बोला कार्तिकमा भएको बेमौसमी वर्षाले ग्रामीण सडकको दुरावस्था बनाएको छ ।

अछाममा बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाँणलाई जानकारी समेत गराइएको छ ।

राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले केही दिन अघि आएको वर्षाका कारण बुढीगंगा, कर्णाली नदी र कैलाश खोलाले गरेको कटानका बारेमा गृहमन्त्री खाँणलाई भेटेर ध्यानाकर्षण गराउनु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button