तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सबै पक्ष मिलेर अघि बढ्नु पर्ने : गृहमन्त्री खाँड

file photo

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले प्राकृतिक विपद् र प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताउनुभएको छ । 

नेपाल भौगर्भिक समाज, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल हाइड्रोलोजिकल एशोसिएसनको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा गृहमन्त्री खाँडले विपद् जोखिम न्यूनीकरण सबैको प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो । 

उहाँले विपद् जोखिम न्यूनीकरणमा सरकारले सम्पूर्ण सरकारी संयन्त्रलाई क्रियाशील बनाउने भन्दै सबै जुटे मात्र नारामा भनिएझैँ विपद् न्यूनीकरण सम्भव हुने स्पष्ट पार्नुभयो । 

गृहमन्त्री खाँडले सरकारले विपद् जोखिम न्यूनीकरण केन्द्रित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गरेको बताउनुहुँदै यसले विज्ञलगायत सबैको सहयोग लिएर प्राकृतिक विपद्को सामना र यसको न्यूनीकरणमा काम गर्ने बताउनुभयो । 

उहाँले नेपालको भौगोलिक, तथा प्राकृतिक प्रकोपलगायतका दृष्टिले कस्तो अवस्थामा छ र यसै क्षेत्रमा अध्ययन अनुसन्धान र विज्ञता प्राप्त व्यक्तिहरूको धारणा र सुझाव लिन चाडै छलफलको आयोजना गर्न प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । 

कार्यक्रममा जलस्रोत तथा सिँचाई सचिव सागर कुमार राईले नदी नाला र पहिरोबाट उत्पन्न प्राकृतिक विपद् बाट बच्न र पूर्वतयारीका बारेमा विभिन्न काम गरिरहेको र प्राधिकरणसँग सहकार्य गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो । 

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन प्रसाद पोखरेलले प्राकृतिक विपद् र प्रकोप न्यूनीकरणका क्षेत्रमा के कसरी सहकार्य गर्न सकिन्छ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तयार रहेको बताउनुभयो । 

प्रकोप न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रमका  दुई वटा सत्रमा विभिन्न ८ जना विज्ञहरूले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button