तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

जेनेभा ।  विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मीहरूलाई कोभिड-१९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरूलाई आग्रह गरेको छ । 


विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको सङ्क्रमणको मारमा परेका बताउँदै उनीहरूको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई नराम्ररी प्रभावित पारेको र त्यसबाट कम्तीमा पनि १ लाख १५ हजार  जना स्वास्थ्यकर्मीहरूको ज्यान गएको बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० को जनवरीदेखि सन् २०२१ को मे महिनाको बीचमा यति धेरै स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान गरिएको बताएको छ ।


विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोस आधनाम गेहब्रेयससले स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।

उहाँले अहिले पनि विश्वका करिब ११९ देशका स्वास्थ्यकर्मीहरूको तथ्याङ्क हेर्दा ती देशका करिब पाँच स्वास्थ्यकर्मीमध्ये दुई जनाले मात्र खोपको पूर्ण मात्रा प्राप्त गरेका बताउनुभएको छ ।


त्यसैले अहिले पनि विश्वमा कोभिड महामारीको अवस्था नहटेको र त्यसमा स्वास्थ्यकर्मीहरू पहिलो पङ्क्तिमा बसेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई खोप उपलब्ध गराउनुपर्ने बताउनुभएको हो । 


अहिले विश्वमा खोपको न्यायपूर्ण वितरण हुन नसकेको बताइएको छ । यस विषयमा विश्व  स्वास्थ्य सङ्गठनले पनि आलोचना गर्ने गरेको छ  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button