तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण सुरु

चौतारा । हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले बेलिव्रिज निर्माणका लागि भदौ २० गते बजेट निकासा गरेपछि नेपाली सेनामार्फत शुक्रवारबाट बेलिव्रिज निर्माण थालिएको हो ।

गत साउन १७ गते पुन आएको मेलम्ची बाढीले हेलम्बुको लाइफलाइनको रुपमा परिचित चनौटेस्थित रातोपुल बगाएपछि स्थानीयले सास्ती खेप्दै आएका थिए । 

पुल बगाएपछि हेलम्बु गाउँपालिकाभित्रको ६ वटा वडा, पाँचपोखरी थाङपाल गाउँपालिकाको २ वटा वडा र  मेलम्ची नगरपालिकाको २ वटा वडा सडक सम्पर्कबाट टुटेको थियो । 

रातोपुल बगाएपछि हेलम्बु क्षेत्रका स्थानीयहरूले मेलम्ची बजारसम्म आवतजावत गर्न पनि घण्टौँ लगाएर पुरानो गोरेटो बाटो प्रयोग गर्दै आएका थिए ।

वेलिव्रिज निर्माणका लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको थियो । पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केध्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते लगायतका सम्पूर्ण ठाउँमा यातायात सहज हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनु भयो ।

हाललाई चनौटेस्थित रातो पुल रहेको ठाउँमा भने हिमपाइप राखी गाउँपालिकाको केन्द्र किउलसम्म यातायात सञ्चालनमा आएको पनि अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button