तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा क्षतिग्रस्त पहुँच मार्गको स्थलगत निरीक्षण

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरस्थित महाकाली नदी माथिको निर्माणाधीन पुल जोड्ने पहुँच मार्गको स्थलगत निरीक्षण गर्नु भएको छ । 

निर्माणाधीन पुलसँग जोडिने पहुँच मार्गको केही भूभाग हालै महाकाली नदीमा आएको बाढीले भत्काएपछि निर्माण कार्यको गुणस्तर मापन गर्न चौतर्फी आवाज उठेपछि शुक्रवार प्रधानमन्त्री देउवाले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । ‘भाइरल रोड’ का नामले परिचित पहुँच मार्गमा ठुलो क्षति पुगेपछि भीमदत्त नगरपालिकाका १२ र १३ नम्बर वडाका अधिकांश बस्तीहरू उच्च जोखिममा रहेका छन् । 

यसअघि, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले बिहीबार डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर तथा शुक्रवार बिहान कैलालीका विभिन्न क्षेत्रको स्थलगत तथा हवाई निरीक्षण गर्नु भएको थियो । 

यही असोज ३१ गते साँझदेखि कार्तिक ३ गते बिहानसम्म परेको अविरल वर्षाका कारण अकल्पनीय क्षति व्यहोर्नु परेको सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान सुदूरपश्चिम पुगेको उक्त टोलीले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा डुबानले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button