तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर– जयनगर रेल चाडै सञ्चालन गरिने : यातायात मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले नेपालको एक मात्र जनकपुर जयनगर ब्रोडगेज रेल सञ्चालन गर्ने बताउनु भएको छ । 

उहाँले जनकपुरधाम उद्योग वाणिज्य सङ्घले रेल्वे सञ्चालनको विषयमा जनकपुरधाममा बुझाएको ज्ञापन पत्र आज ग्रहण गर्दै रेल्वे सम्बन्धी परिमार्जित विधेयक सरकारले अध्यादेश मार्फत ल्याएर भए पनि चाँडो सञ्चालन गर्ने पक्षमा रहेको बताउनुभयो । 

उहाँले सदन अवरोध रहेका कारणले रेल्वे सम्बन्धी पूर्व विधेयक राष्ट्रिय सभामा अड्केको बताउँदै त्यसलाई पनि कानूनी प्रक्रियाले व्यवस्थापन गरेर चाडै सरकारले रेल्वे सम्बन्धी नयाँ अध्यादेश ल्याउने बताउनुभयो ।

मन्त्री यादवले रेल्वे सम्बन्धमा भारतीय राजदूतावास तथा विभाग सहितको उच्च अधिकारीहरूको आजै बैठक रहेको बताउँदै त्यसपछि यस विषयमा थप निर्णय हुने पनि बताउनुभयो । 

उहाँले विकास निर्माणमा राजनीतिक नगर्नका लागि आग्रह गर्दै विकास सवैका लागि भएकाले यसमा नागरिक समाज तथा आम जनतालाई निगरानी गर्नका लागि पनि आग्रह गर्नु भयो । 

मन्त्री यादवले नेपाल सरकारले विकास निर्माणमा हुने गरेको ढिलाइको विषयमा गम्भीर रहेको बताउँदै विकासमा तीव्रता दिनका लागि कानूनको परिमार्जन गर्नु परे पनि गर्ने पक्षमा रहेको बताउनु भयो । 

उहाँले रेल सहित सडक यातायातलाई पनि प्राथमिकताका साथ विकास गर्ने पक्षमा सरकार रहेको बताउँदै घर अगाडि हुने विकासमा चासो लिएर गुणस्तरीय  विकासका लागि खबरदारी गर्नका लागि आम जनतासँग आग्रह पनि गर्नु भयो । 

विकासको विषयमा नागरिक समाजले लिएको चासोको स्वागत गर्दै ज्ञापन पत्र दिएपछि यसको विषयमा निरन्तर ध्यानाकर्षण गर्नका लागि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले नागरिक समाजसँग आग्रह गर्नु भयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बुझाउनु भएको ज्ञापन पत्रमा जनकपुर क्षेत्रको आर्थिक सामाजिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रेल्वेलाई तत्काल सञ्चालनमा ल्याउनका लागि आग्रह गर्नु भयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य निर्मल कुमार चौधरीले जनकपुरधामको मात्र होइन नेपालको आर्थिक विकासमा पनि जनकपुर जयनगर बर्दिबास रेल सेवाको सञ्चालन आवश्यक भएको बताउनु भयो । ज्ञापन पत्र दिनका लागि जनकपुरधामको उद्योगी व्यापारीहरूको सहभागिता रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button