तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा कञ्चनपुरका बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रहरूको निरीक्षण

कञ्चनपुर । बेमौसमी वर्षाले पुर्‍याएको क्षतिको अवस्था बुझ्न पश्चिम नेपालको निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले कञ्चनपुरका बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रहरूको समेत स्थलगत निरीक्षण गरेको छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित स्थानहरूको स्थलगत निरीक्षण गर्ने सिलसिलामा कञ्चनपुर पुगेको टोलीले कञ्चनपुरका ब्रह्मदेव, दोधाराचाँदनी लगायतका स्थानहरूको निरीक्षण गरेको छ ।

त्यस क्रममा प्रधानमन्त्री देउवाले बाढी तथा डुबानले पुर्‍याएको क्षति, उद्धार तथा राहत कार्य, पीडित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ । 

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किएर यथाशीघ्र राहत तथा क्षतिपूर्तिको कार्य गरिने बताउनुभयो । 

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, पूर्व मन्त्री त्रय एनपी साउद, रमेश लेखक र वीर बहादुर बलायर सहित उच्च स्तरीय सरकारी अधिकारीहरू र सुरक्षाकर्मीहरू उक्त टोलीमा रहनुभएको छ ।

प्रधानमन्त्री सहितको टोली दिनभर स्थलगत निरीक्षणमा  
प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोली दिनभर स्थलगत निरीक्षणमा व्यस्त रह्यो । 

यही असोज ३१ गते साँझदेखि कार्तिक ३ गते बिहानसम्म परेको अविरल वर्षाका कारण अकल्पनीय क्षति व्यहोर्नु परेको सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानबाट बढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि उक्त टोली बिहीबार बिहान सुदूरपश्चिम प्रदेश पुगेको हो ।  

काठमाडौँबाट सुर्खेत हुँदै सुदूरपश्चिम प्रदेश पुगेको निरीक्षण टोलीले डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुरका विभिन्न क्षेत्रको स्थलगत तथा हवाई निरीक्षण गरी बिहीबार साँझ नै कैलालीको धनगढी पुगेको बताइएको छ । 

टोलीले सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा डुबानले पुर्‍याएको जनधनको क्षति, उद्धार तथा राहत कार्य, विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button