तपाईँ सुन्दै हुनुहुन्छः

सरकारद्वारा अधिग्रहण गरिएको जग्गाको १ अर्ब ५० करोड मुआब्जा वितरण

बीरगंज । बीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा रहेको सिर्सिया खल्वाटोलाको जग्गा अधिग्रहण गर्न सरकारले अहिलेसम्म डेढ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । 

हालसम्म ५३ जग्गाधनीले १ अर्ब ५० करोड रुपैयाँ बुझेका छन् । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म १७ बिघा जग्गाको मुआब्जा वितरण भएको छ । 

अब करिब ३ सय किसानले झन्डै ४ अर्ब रुपैयाँ मुआब्जा लिन बाँकी रहेको छ । यसको फाइल अर्थ मन्त्रालय पुगिसकेको र अब छिट्टै रकम निकासा भई आउने जानकारी आफूले पाएको कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । 

सिर्सिया खल्वाटोलाका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा लिइरहेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मा पर्ने सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीबीचको जग्गा अधिग्रहण प्रक्रिया सरकारले करिब ५ वर्षअघि सुरु गरेको हो । 

सरकारको २०७३ पुस १७ को निर्णयबाट जग्गा अधिग्रहण प्रक्रिया अगाडी बढाएको थियो । सुक्खा बन्दरगाह र आईसीपीबीचमा २ सय ९७ जना स्थानीय जग्गाधनीको करिब १ हजार ४ सय कित्ता जग्गा रहेको छ । 

सरकारले निर्धारण गरेको मापदण्डअनुसार यहाँ मुआब्जा रकम सबैभन्दा बढी प्रतिकट्ठा ६७ लाख ७० हजार रुपैयाँ र सबैभन्दा कम प्रतिकट्ठा २४ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । 

५ वर्षअघि स्थानीयको ६२ बिघा जग्गा अधिग्रहण प्रक्रियाका लागि भन्दै रोक्का गरिएको थियो । 

करिब डेढ दशकदेखि सञ्चालनमा आएको सिर्सिया सुक्खा बन्दरगाह र करिब चार वर्षदेखि सञ्चालनमा रहेको एकीकृत सुरक्षा जाँच चौकीको बीचमा खल्वाटोलाका स्थानीय बासिन्दाको जग्गा अधिग्रहण गरेपछि दुवै संरचना एक आपसमा जोडिनेछन् । 

भविष्यमा दुवै संरचनाका लागि ठाउँ साँघुरो भएर पूर्ण उपयोगमा ल्याउन समस्या हुने भन्दै सरकारले जग्गा अधिग्रहण गर्ने योजना ५ बर्ष अगाडी नै बनाएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button