तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

 

इलाम  । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । 

पहिरोमा पुरिएर बेपत्ता भएकी माङ्सेबुङ ६ की  ५३ वर्षीया हरिमाया राईको शव भेटिएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभयो ।  

बिहीबार पहिरोले पुरेर ११, खोलाले बगाएर र रुखले किचेर १–१ जनाको मृत्यु भएको थियो । पहिरोमा परी १ जना बेपत्ता र ४ घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

पहिरोमा परी फाकफोकथुम गाउँपालिकामा एकाघरका ४ सहित ६ जनाको मृत्यु भएको हो । फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइतबहादुर राई, वडा ३ का ८६ वर्षे नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । 

माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षे हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षे विशाल तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । 

त्यस्तै, देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जङ्गलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई पहिरोमा बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावितको उद्धारमा प्राथमिकताका साथ लागिरहेको  प्रजिअ खड्काले बताउनुभयो । भौतिक क्षतिको विवरण सङ्कलनको काम गरिरहेको उहाँले बताउनुभयो । 

बाढी पहिरोको कारण भएको क्षतिको विवरण सङ्कलन र अनुगमन वडा वडामा भइरहेको  इलाम नगरपालिका–६ का वडा सदस्य मदन श्रेष्ठले बताउनुभयो । 

बेमौसमी वर्षाको कारण इलामका अधिकाशं ग्रामीण सडकहरू अवरुद्ध भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button