तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले धान बालीमा पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्दै सरकार

काठमाडौँ  । गत आइतबारदेखि परेको बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ को धान बालीमा ठूलो मात्रामा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

सरकारले कार्यदल बनाएर क्षतिको विवरण सङ्कलन गरिरहेको र पूर्ण विवरण प्राप्त भएपछि राहतका कार्यक्रम अगाडि बढाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

हालैको अविरल वर्षाका कारण आएको बाढीले धान बालीमा ठूलो क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन् । सरकारले किसानहरूलाई राहत दिन क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने प्रारम्भिक तथ्याङ्क आइरहेको जनाएको छ ।

हालसम्म प्राप्त जानकारी अनुसार, लुम्बिनी प्रदेशमा ९३ हजार हेक्टर क्षेत्रफलमा असर परेको र १८ हजार हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धान बालीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

यसबाट करिब १ लाख ६१ हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ भने करिब ४ अर्ब बराबरको क्षति पुगेको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गरी झण्डै ३० प्रतिशत धान बालीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क उपलब्ध भएको छ । 

प्रदेश नम्बर १ बाट भने तथ्याङ्क आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । तत्काल राहतका लागि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको र सबै प्रदेशबाट क्षतिको विवरण प्राप्त भएपछि थप राहतको व्यवस्था गर्ने गरी तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिनुभयो ।

हाल मन्त्रालयले सात वटै प्रदेशको प्रारम्भिक विवरण सङ्कलन गरिरहेको र त्यसको पूर्ण विवरण आइसकेपछि त्यहाँ के कति राहत आवश्यक छ र सङ्घीय सरकारको कस्तो सहयोगको अपेक्षा प्रदेश सरकारले गरेको छ भन्ने विवरण प्राप्त भएपछि थप राहतको समेत व्यवस्था गरिने कृषि मन्त्रालयका प्रवक्ता सन्जेलले बताउनुभयो ।

सरकारले कृषि बाली तथा पशुपन्छीको बीमा गर्न अनुदान दिँदै आएको र प्रभावकारी रुपमा नै सञ्चालन भइरहेको भए पनि सबभन्दा कम बीमा धान बालीको भएको कृषि मन्त्रालयले जनाएको छ । 

कृषि अन्तर्गत किसानले सबभन्दा बढी पशुपन्छीको बीमा गराएको तथ्याङ्कले देखाएको छ । कृषि बालीतर्फ किसानहरूले तरकारी र फलफूलमा बढी बीमा गराए पनि सबभन्दा कम धान बालीमा गराएको पाइएको छ । 

नगदे बालीको तुलनामा धान बालीको बीमामा कमी भएकाले आगामी दिनमा धान बालीको बीमाका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा मन्त्रालयका प्रवक्ता सन्जेलले जोड दिनुभयो ।

अहिलेको बेमौसमी वर्षासँगै आएको बाढीले धान बालीको पनि बीमा महत्त्वपूर्ण रहेको पाठ सिकाएको पनि उहाँले बताउनुभयो ।

खाद्यान्नमा मात्र नभई मुलुकको कुल ग्राहस्थ उत्पादनमा धान बाली महत्त्वपूर्ण बालीका रुपमा रहेकाले खाद्य तथा पोषण सुरक्षामा पनि यसको महत्त्वपूर्ण हिस्सा रहेको छ । अहिले तराइका जिल्लामा बढी क्षति पुगेकाले यस वर्ष धानको आयात बढ्न सक्ने, बिउको अभाव एवं मूल्यवृद्धि हुनसक्ने र खाद्य तथा पोषण सुरक्षामा चुनौती थपिन सक्ने देखिन्छ । 

तर क्षतिको यकिन तथ्याङ्क आइसकेपछि समग्र राष्ट्रिय उत्पादनमा कति क्षति पुग्यो र यसले कुन कुन आयाममा असर गर्छ भन्ने विषयको अध्ययन र विश्लेषण भइसकेपछि त्यसैका आधारमा रणनीति तयार गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button