तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली बाढीका कारण खोर भित्रै दबिए ६ हजार कुखुरा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका एक कुखुरा किसान ठूलो मर्कामा परेका छन् । उनले ५ वर्षदेखि गर्दै आएको कुखुरा पालन व्यवसाय चौपट भएको छ ।

भीमदत्त नगर पालिका १३ का चन्द्र बहादुर पालको ६ हजार कुखुरा खोरमै दबेका छन् । कात्तिक २ गते राति आएको बाढीले उनको २५ लाख भन्दा बढी नोक्सान गरेको छ ।

२ महिना पछि बेच्ने तयारीमा रहेका पालको कुखुरा खोर बाढीको लेदोले भरिएको छ । दुई ठुला खोर पनि काम नलाग्ने भएको छ ।

दशैमा पहाड घर डडेलधुरा गएका उनी खबर पाए लगत्तै भीमदत्त घर फर्किएका छन् । ‘यो नोक्सानी मार कतिसम्म झेल्नु पर्ने हो ? ’ चिन्तित हुँदै पालले भने ‘गरिआएको एक मात्र व्यवसाय चौपट भयो ।’ पालले ३५ लाख बराबरको नोक्सानी भएको बताए ।

पहाड जानु अघि ५० कट्टा चारादाना खोरमा राखेर गएका थिए । त्यो पनि बाढीले पुरै नोक्सान गरेको छ ।

६ जना परिवार रहेका पालको घर र खेतमा पनि ठूलो नोक्सानी गरेको छ । दशैपछि बर्खेबाली धान भित्र्याउने तयारीमा रहेकै बेला खेतमा धान नष्ट भएको छ ।

घरको सरसामान समेत बगाउँदा उनी बिचल्लीमा परेका छन् । अभियान दैनिकको टिम उनको घर पुग्दा परिवारका सदस्यहरु घर भित्र पसेको बाढीको लेदो सफा गरिरहेका थिए । दुई तले घर भएकाले अन्य परिवारजनले माथिल्लो तलमा बसेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button