तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पीडितहरूको उद्धारमा जुटौँ : प्रधानमन्त्री

डडेलधुरा । बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्नो गृह जिल्ला डडेलधुरा पुग्नु भएको छ । 

सुदूरपश्चिममा बाढी पहिरोबाट ठुलो धनजनको क्षति भएपछि भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवाले जिल्लाका स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनलाई बाढी पीडितहरूको उद्धारमा कुनै कसर बाकी नराख्न निर्देशन दिनु भएको छ ।   

लगातार दुई दिनदेखिको वर्षाका कारण सुदूरपश्चिमको पहाडी सात जिल्ला जोडने सडक खण्ड भीमदत्त राजमार्गको साहुखर्क देखि बुडर बजार सम्म झण्डै १८ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएपछि हेलिकोप्टरबाट निरीक्षण गर्नुभएको थियो ।   

बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि गृह जिल्ला डडेलधुरा आइपुग्नु भएका प्रधानमन्त्री देउवाले अवरुद्ध राजमार्ग र स्थानीय ग्रामीण सडक यथाशीघ्र सुचारु गर्न स्थानीय प्रशासनलाई  निर्देशन दिनु भएको छ । 

जिल्ला सदरमुकाम लगायत ग्रामीण बस्तीका सडक, सिचाई खानेपानी, जनधनको क्षति र घर जग्गामा भएको क्षतिको उचित मूल्याङ्कन गरी गृह मन्त्रालयलाई विवरण पठाउन समेत स्थानीय प्रशासनलाई देउवाले निर्देशन दिनुभएको छ । 

सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।  

आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता रहेको र बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button