तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा तथा हावाहुरी पीडित किसानलाई प्रदेश २ सरकारले राहत दिने

जनकपुरधाम । प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले असमयको वर्षा तथा हावाका कारणले कृषि बालीमा निक्कै क्षति भएको भन्दै तीनै तहका सरकारको समन्वय एवं सहभागितामा राहत कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नु भएको छ । 

कृषि मन्त्री यादवले मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश नंं २ को आठ वटै जिल्लामा धान, तरकारी तथा तेलहन एवं दलहन बालीमा व्यापक मात्रामा क्षति भएको बताउनु भयो । 

उहाँले धान भित्र्याउने वेलामा भएको वर्षाका कारणले कतिपय ठाउँमा धानको कटानी गरेर खेतमा नै राखिएको पाजा ( पसही ) खेलमा नै डुबेको र हावाले अग्लो जातको धान खेतमा नै डुबेका ठूलो क्षतिको प्रारम्भिक अनुमान गरे पनि क्षतिको डाटा सङ्कलन गर्ने काम भइरहेको बताउनु भयो । 

कृषि मन्त्री यादवले क्षतिको विवरण प्राप्त भएपछि मात्र किसानका लागि राहतको प्याकेज घोषणा गर्ने बताउँदै क्षति ८ वटै जिल्लामा भएको बताउनु भयो । तरकारी बाली लगाउने वेला वर्षा भएकाले कतिपय ठाउँमा बिउँको बेर्ना पनि डुबेकोले तरकारी उत्पादनमा असर पर्ने मन्त्रीले बताउनु भयो । 

मन्त्रालयका सचिव डा. नम्रता सिंहले मन्त्रालयले स्थानीय सरकारसँगको सहकार्यमा डाटा सङ्कलन गर्ने काम गरिरहेको बताउँदै तथ्याङ्क आएपछि क्षतिको वास्तविक विवरण मन्त्रालयले सार्वजनिक गरेर राहतको कार्यक्रम गर्ने बताउनु भयो ।

प्रदेश नंं २ को ८ वटा जिल्लामा यस वर्ष ४ लाख ३ हजार हेक्टरमा धानको खेती गरिएको छ । गत वर्ष ३ लाख ७३ हजार ४ सय ४१ हेक्टर क्षेत्रफलमा धानको खेती गरिएकोमा १३ लाख ४४ हजार ३ सय ७८ मेट्रिक टन धानको उत्पादन भएको मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिनु भयो । 

यस वर्ष धान रोपाइको क्षेत्रफल बढेको र समय समयमा पानी परेका कारणले उत्पादन निक्कै वृद्धि हुने अनुमान गरिएको भए पनि कार्तिक १ र २ गतेको मूसलाधार वर्षा तथा हावाहुरीले धानमा नराम्रोसँग क्षति गरेको पनि सूचना अधिकारी पालले जानकारी दिनु भयो । खास गरेर वर्षा तथा हावाहुरीले धानमा क्षति भएपछि किसानहरू निक्कै चिन्तित बनेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button