तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्र बैतडीको ढुंगाड पुगेर फर्कनुभयो प्रधानमन्त्री

बैतडी। प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्र बैतडीको सिगास गाउँपालिका–५ ढुंगाड पुगेर फर्किनुभएको छ । 

गत आइतबार देखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेलधुरा प्रस्थान गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकप्टरबाटै अनुगमन गर्नुभएको छ  । 

आकाशमा तीन चक्कर लगाएर प्रभावित क्षेत्र पुग्नुभएका प्रधानमन्त्री देउवा प्रभावित क्षेत्रका व्यक्तिहरूसँग भेट गरी डडेलधुरा प्रस्थान गर्नुभयो । 

प्रधानमन्त्री देउवाले करिब २० मिनेट जति स्थानियबासीहरुसँग भेट गर्नुभएको स्थानीय घनश्याम धामीले बताउनुभयो । 

उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्युले बढीमा ३ मिनेट सम्बोधन गर्नुभयो । हाम्रा समस्याका विषयमा केही व्यवस्था गरिसकेको र केही अब गर्ने कुरा राख्नुभयो । अन्य जिल्लामा पनि कार्यक्रम रहेको भन्दै उहाँ फर्किनुभयो ।” 

प्रधानमन्त्री देउवालाई ढुंगाडबासीले आफ्ना समस्याहरूबारे ज्ञापन पत्र बुझाएका छन् । 

वर्षाका कारण सेती नदीमा बाढी आएपछि सिगास ५ ढुंगाडका करिब दुई सय रोपनी धान खेत बगरमा परिणत भएको छ भने, ५ घर भत्किएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button