तपाईँ सुन्दै हुनुहुन्छः

बेमौसमी वर्षाले ओखलढुङ्गामा २२९३ हेक्टर अन्नबाली नष्ट

ओखलढुङ्गा । बेमौसमी वर्षाले ओखलढुङ्गामा २ हजार २ सय ९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ । कार्त्तिक लागेपछि सुरु भएको बेमौसमी वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्राउने बेला भएको कृषिबाली धान, फापर र कोदो गरी २ हजार २ सय ९३ हेक्टरमा क्षति भएको हो । 

स्थानीय तहका कृषि शाखा मार्फत कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाले सङ्कलन गरेको विवरण अनुसार ४ हजार ४ सय ३ हेक्टरमा लगाइएको धानबाली मध्ये ८ सय ८० हेक्टर, ७ हजार ७ सय ५१ हेक्टरमा लगाइएको कोदोबाली मध्ये १ हजार ३ सय ९५ हेक्टर र ९३ हेक्टरमा लगाइएको फापरमा १८ हेक्टरमा क्षति पुगेको कृषि ज्ञानकेन्द्रका अधिकृत छैटौँ टिका बानियाले बताउनुभयो । भित्राउने बेलामा बेमौसमी वर्षाले कृषि बालीमा क्षति गरेपछि यस वर्ष कुल उत्पादन घट्ने अनुमान गरिएको उहाँको भनाई छ । यद्यपि कति प्रतिशत घट्छ भन्ने यकिन भइसकेको छैन ।

ज्ञान केन्द्रले जिल्लामा भएको क्षतिको विवरण प्रदेशको कृषि विकास निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइसकेको छ । जिल्लाका किसानले राहत माग गरिरहेको भए पनि माथिल्लो निकायबाट राहतका कार्यक्रम नआएसम्म जिल्ला कृषि ज्ञान केन्द्रसँग कुनै राहत प्याकेज नहुने अधिकृत बानियाको भनाई छ । ‘धमाधम भित्राउने बेलाको बालीमा क्षति पुग्यो । क्षतिको विवरण लिएर माथिल्लो निकायमा पठाएका छौँ । 

हामीसँग तत्काल किसानलाई राहत दिने कार्यक्रम हुँदैन ।’ बानियाले भन्नुभयो, ‘मन्त्रालयले राहतका कार्यक्रम ल्यायो भने हामी जिल्लाका किसानलाई सिफारिस गर्छौँ ।’ स्थानीय सरकारहरूले आवश्यकता महसुस गरे आफ्नो क्षेत्रका किसानलाई राहत दिन सक्ने उहाँको भनाई छ । 

लगातारको वर्षाका कारण पाकेर पहेलपुर भएको धानबालीमा पानी र हावाहुरीले क्षति गरेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । 

दशैँ सकिए लगत्तै धान भित्र्याउने तयारीमा जुटेका किसानलाई बेमौसमी पानी र हावाहुरीले धानबाली सोतर झैँ बनाएपछि चिन्ता थपिएको मोलुङ गाउँपालिका वडा नम्बर–४ हर्कपुरका किसान खडानन्द खतिवडाले बताउनुभयो । ‘खेतमा गयो भने बैरागै लाग्ने भएको छ । यो कात्तिके झरीले किसानको गाँस खोस्यो ।’ खतिवडाले भन्नुभयो, ‘हामी त मर्कामा पर्‍यौ कसलाई गुनासो गर्नु र खै ? कोही किसानका समस्या बुझ्न आउँदैनन् ।’ सरकारले किसानका लागि राहतको कार्यक्रम ल्याउनुपर्ने उहाँको माग छ । 

वर्षभरि अर्मपर्म गरेर लगाएको बाली भित्राउन नपाइ नष्ट भएपछि भोकमरीको सम्भावना बढेको सुनकोशी गाउँपालिका वडा नम्बर–८ का किसान कृष्ण श्रेष्ठ बताउनुहुन्छ । ‘वर्षभरि खान गरेको खेती, पाक्ने बेलामा यसरी नष्ट हुन्छ ।’ उहाँले भन्नुभयो, ‘प्राविधिक हिसाबले मल, बिउ, गोडमेल त मिलाएरै उत्पादन बढाउन प्रयास गरिएको थियो प्रकृतिले हामी किसानलाई ठग्यो ।’जिल्लाको मोलुङं गाउँपालिका–४ हर्कपुर र जरायोटारमा सबैभन्दा बढी क्षति पुगेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button