तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

पाँचथर । पाँचथर जिल्लाका विभिन्न स्थानमा अविरल वर्षासँगै गएको पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ मध्ये २६ जनाको सनाखत भएको छ  । 

बाढी पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । 

पहिरोका कारण सबैभन्दा धेरैको ज्यान गएको जिल्लाको मिक्लाजुङ गाउँपालिका ५ कुरुम्वामा मात्रै १२ जनाको शव भेटिएको पाँचथर प्रहरीले जनाएको छ । 

हालसम्म पहिचान भएकाहरूमा मिक्लाजुङ ७ का मनमाया राई र विरमान राई मिक्लाजुङ  ५ का ३६ वर्षीय विष्णुबहादुर लावती ५५ वर्षीया भद्रमाया लावती, ३६ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिषा चोङवाङ, २८ वर्षीय प्रताप चोङवाङ, ६५ वर्षीय पदमसिंह चोङवाङ, ३१ वर्षीय सुरज चोङवाङ,७६ वर्षीय नवहादुर लावती, ९महिनाकी आकांक्षा लावती,मिक्जाजुङ ४ का २९ वर्षीय बविन राई, ६० वर्षीय साहिला मगर, २७ वर्षीया दिवाना राई, मिक्लाजुङ २ की ५१ वर्षीय मनमति शेर्मा,को पहिचान भएको पाँचथर प्रहरीले जनाएको छ ।

यस्तै फाल्गुनन्द गाउँ पालिका ४ की ३५ वर्षीय रामप्यारी चेम्जोङ, मिक्लाजुङ ५ की ३६ वर्षीय चन्द्रकला राई,मिक्लाजुङ १ का ३५ वर्षीय सन्तोष नेपाली,मिक्लाजुङ ५ का ४७ वर्षीय मनवहादुर राई, मिक्लाजुङ ५ कै ३६ वर्षीय विमला श्रेष्ठ राई छन् । 

बिहीबार नै पहिरोमा पुरिएर ज्यान गुमाएका फिदिम ४ की २५ वर्षीय ममता मगर ४ वर्षीय रोयल मगर कुम्मायक २ का ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजोङ ४ का ६५ वर्षीय धनबहादुर लावती र फाल्गुनन्द गाउँ पालिकाका ३ का २८ वर्षीय फुर्बा तामाङ,फाल्गुनन्द ३ कै १० वर्षीय युगेस तामाङ, रहेको प्रहरीले जनाएको छ । 

पहिरोमा परी ६ जना बेपत्ता भएका छन् भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी, पहिरोका कारण मेची राजमार्ग, कोसी करिडोर र मध्य पहाडी लोकमार्ग सहितका सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा पाथीभरा गएका तिर्थयात्रीहरु अलपत्र भएका छन् । 

सडक अवरुद्ध हुँदा मृतकको शव उठाउनसँगै राहत पुर्‍याउन समेत कठिनाइ भइरहेको छ । ठाउँ ठाउँमा पहिरो र ढिस्का खसेका कारण अवरुद्ध सडक खुलाउन सबै क्षेत्रमा एक्स्काभेटर परिचालन गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button