तपाईँ सुन्दै हुनुहुन्छः

मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने

कञ्चनपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई १० लाखका दरले राहत रकम उपलब्ध गराइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जामगरले बताउनु भएको छ । उहाँले कागज पत्र पेश हुनासाथ तत्कालै अनलाइन बैङ्कमार्फत भुक्तानी गरिने बताउनु भएको छ ।

बुधवार बिहान हात्तीको आक्रमणबाट कार्की दम्पतीको घर आँगनमै मृत्यु भएको थियो । शुक्लाफाँटा नगरपालिकाले समेत मृत्यु भएका परिवारका हकवालालाई जनही २५ हजारका दरले किरिया खर्च उपलब्ध गराउने भएको छ ।

प्रत्येक वर्ष भारतको दुधुवा नेशनल पार्क हुँदै जङ्गली हात्तीको बथान यहाँ आइपुग्ने गर्दछ । बर्षातका बेला दुधुवा नेशनल पार्कमा पानी भरिने भएकाले हात्तीको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै चुरे क्षेत्रसम्म पुग्ने गर्दछ ।  

निकुञ्जको मध्यवर्ती क्षेत्र, त्यसका वरिपरिका क्षेत्र र चुरे क्षेत्रका बस्तीमा हात्तीले बढी नोक्सानी पुर्‍याउँदै आएको छ । हिँडडुल गर्ने पुरानो प्राकृतिक बाटो(कोरिडोर) मासिदा हात्तीले अधिक नोक्सानी पुर्‍याउने गरेको वन्यजन्तु विज्ञको भनाइ रहेको छ। 

“हात्तीले समूहमा रहेका बेला आक्रमण गर्दैन”, विज्ञहरू भन्छन्, “प्रजननका बेला मात चढेको मत्त(भाले) हात्तीले आक्रमण गरी मानवीय क्षति निम्त्याउने गरेको पाइएको छ।” छावा माथि आक्रमण हुनसक्ने ठानेमा समेत जोगाउनका लागि हात्ती हिंसक हुने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button